गुड फ्राइडे सिनेमा
तीन जना दाजुभाइ–दिदीबहिनी कुन्जु, कुट्टन र अर्जुन अर्थात् अजु सानैदेखिका मिल्ने साथी पनि हुन्। काका–मामा–सानिमा–फूपूका छोराछोरी उनीहरू एउटै गाउँमा हुर्केका हुन्। उनीहरूबीच गहिरो सम्बन्ध छ।
उनीहरूको साझा सपना हो— एक दिन ठूलो सहर जाने।
अन्ततः उनीहरू सबैको मन तानेको सहर, बैंगलुरू पुग्छन्।
त्यहाँ उनीहरूको जीवनले नयाँ मोड लिन्छ।
कुन्जु पढाइमा तेज, आत्मविश्वासी र महत्वाकांक्षी छिन्। उनको योजना करिअर बनाउने थियो तर परिवारको चाहनाले बिहे गर्छिन् र बैंगलुरू पुग्छिन्।
उनका श्रीमान शिवदास अनुशासित र गम्भीर स्वभावका छन्। तर मनभित्र बिहेभन्दा अघिल्लो प्रेमको पीडा र गहिरो अपराधबोध बोकेका छन्। कुन्जु र शिवदासको सम्बन्धको सुरूआतमा मौनता र दुरी रहन्छ। परिस्थितिले दुवैलाई एकअर्काको पीडा बुझ्न बाध्य बनाउँछ।
कुट्टन सरल बानी भएका युवक हुन्। उनी बैंगलुरूमा सफ्टवेयर इन्जिनियर पढ्न आएका हुन्छन्। सुरूमा सहरको चकाचकसँग मेल खान उनलाई गाह्रो पर्छ। यत्तिकैमा उसको भेट मीना नामकी युवतीसँग हुन्छ।
सुरूआतमा मीना र कुट्टनको सम्बन्ध मिठासले भरिएको हुन्छ। बिस्तारै सोच र जीवनशैलीको भिन्नताले समस्या हुन थाल्छ।
त्यस्तै अजु स्वतन्त्र, साहसी र रोमाञ्चप्रेमी युवक हुन्। उनी बाइक मर्मत गर्ने काम गर्छन्, मोटरसाइकल रेसिङमा रमाउँछन्।
रेडियो कार्यक्रममार्फत उनको चिनजान सारा नामकी युवतीसँग हुन्छ। साराहको आवाज र व्यक्तित्वले अजुलाई आकर्षित गर्छ।
भेट्दा थाहा हुन्छ—सारा शारीरिक रूपमा अपांगता भएकी छिन्। तर जीवनप्रतिको दृष्टि र आत्मविश्वासले उनी पूर्ण छन्।
साराको ऊर्जा अजुलाई जीवनको नयाँ दृष्टिकोण दिन्छ।
यी तीनै पात्रको यात्रा फरक छ— कोही प्रेम खोज्दैछ, कोही आफ्नो आत्मविश्वास फर्काउँदै त कोही जीवनको अर्थ खोज्दैछ।
यसरी बैंगलुरूमा संघर्ष गरिरहेका बेला उनीहरूको जीवन एकै पटक उथलपुथल हुन्छ।
दासको अतीतको रहस्य, कुट्टनको प्रेमको जटिल मोड, अजुको अतीत र वर्तमानबीचको टकरावबीच सम्बन्धका गाँठाहरू फुक्न र कसिन थाल्छन्।
के यी तीनै पात्रले आफ्नो संघर्ष जितेर नयाँ सुरूआत गर्न पाऊलान्? वा बैंगलुरूले उनीहरूको जीवनलाई सधैंका लागि बदलिदिन्छ?
यो थाहा पाउन फिल्म 'बैंगलोर (बैंगलुरू) डेज' हेर्नुहोला।
मलयालम भाषाको यो रोमान्टिक कमेडी फिल्म अन्जली मेननको निर्देशनमा बनेको हो। तीस वटा हाराहारी अवार्ड जितेको यो फिल्म सुपरहिट भएको थियो। सन् २०१४ मा वर्षकै सबभन्दा धेरै कमाउने मलयालम फिल्मको रेकर्ड बैंगलोर डेजले नै राखेको छ।
समीक्षक र दर्शक दुवैले यसलाई खुलेर प्रशंसा गरेका छन्।