गुड फ्राइडे सिनेमा
कुनै सिनेमा यस्ता हुन्छन्, जसमा कुनै तडकभडक र तामझाम हुँदैन। सामान्य कथा, सामान्य प्रस्तुति र सामान्य शैलीमा बनेका हुन्छन्। तर पनि तिनले दर्शकको मनमा गहिरो छाप छाड्छन्। राम्रो सिनेमाको सूची अटाउँछन् र कालजयी बन्न सक्छन्।
यस्तै फिल्ममध्ये एक हो दक्षिण भारतीय फिल्म 'टुरिस्ट फ्यामिली'।
यही वर्ष रिलिज भएको यो तमिल फिल्म अभिषण जीविन्थले निर्देशन गरेका हुन्। अभिषणनको निर्देशनमा बनेको यो पहिलो फिल्म हो।
श्रीलंकाको आर्थिक र सामाजिक संकटबाट गुज्रिएको एउटा तमिल शरणार्थी परिवारले भारत आएर नयाँ जीवन सुरू गर्दा गर्ने संघर्षको कथा यो फिल्मले भन्छ। कम बजेटमा बनेको भए पनि गहिरो विषयवस्तु र सशक्त अभिनयका कारण टुरिस्ट फ्यामिलीले समीक्षक र दर्शक दुवैको प्रशंसा पाउन सफल भएको छ।
फिल्मको सुरूआत समुद्री मार्गको दृश्यबाट हुन्छ।
बुबा, आमा र दुई छोराको एक सामान्य श्रीलंकाली तमिल परिवार पहिचान लुकाएर चेन्नई आएर बस्छ।
अवैधानिक तरिकाले आएकाले फिर्ता जानु नपरोस् भनेर उनीहरू आफूलाई केरला बासिन्दा झैं प्रस्तुत गर्छन्। तर उनीहरूले भाषा, संस्कृतिको फरकपन र आर्थिक कठिनाइका कारण चुनौती सामना गर्नुपर्छ। काम खोज्न पनि थुप्रै संघर्ष गर्नुपर्छ।
बुबा धर्मदासले सानातिना काम गरेर परिवारको भरणपोषण गर्ने प्रयास गर्छन्।
केही स्थानीय मानिसहरूको उनीहरूप्रतिको व्यवहार सुरूमा शंका र भेदभावले भरिएको हुन्छ। केही छिमेकी सहयोगी पनि हुन्छन्।
एक दिन सहरमा आतंकवादी घटना हुन्छ। पुलिसले धर्मदास र उनको परिवारमाथि शंका गर्न थाल्छ। यसको खास कारण हुन्छ।
छानबिन र नियन्त्रणका कारण परिवारमा तनाव बढ्छ र उनीहरू संकटमा फस्छन्।
के यो सामान्य परिवारले नगरेको गल्तीको सजाय भोग्नुपर्ला? वा उनीहरूको जीवनमा अर्कै मोड आउँछ?
समय क्रममा यो परिवार त्यो समाजमा कसरी भिज्छ? वा अपहेलित हुन्छ?
यसका लागि फिल्म टुरिस्ट फ्यामिली हेर्नुहोला।
शरणार्थी जीवनका संघर्ष, सामाजिक भेदभाव, परिवारको माया र समुदायको सहकार्य समेटिएको यो फिल्ममा कमेडी र इमोसन (भावना) दुवैको राम्रो सन्तुलन देखिन्छ। प्रमुख पात्र धर्मदास र उनकी श्रीमती वासन्तीको अभिनय अत्यन्तै प्रभावशाली छ। उनका छोराहरूले पनि कथा अघि बढाउन बलियो भूमिका खेल्छन्।
समग्रमा टुरिस्ट फ्यामिली एउटा संवेदनशील कथा हो, जसले कठिनाइका बाबजुद नयाँ सुरूवात सम्भव हुन्छ भन्ने देखाउँछ।
जम्मा आठ करोड भारू हाराहारीमा बनेको यो फिल्मले झन्डै ९० करोड भारू कमाएको छ। सन् २०२५ मा बनेका उत्कृष्ट तमिल फिल्मध्ये एक यो पनि हो।
आज गुड फ्राइडे सिनेमामा हामी यही हृदयस्पर्शी पारिवारिक कथा सिफारिस गरेका छौं।