गुड फ्राइडे सिनेमा
संसारभर छोटा फिल्मका पारखीहरू छन्। कम समयमा सिनेमाको मनोरञ्जन लिन चाहनेका लागि त छोटा फिल्म एकदमै उपयुक्त विकल्प हुन्।
त्यसमाथि छोटा फिल्मको खासियत कम समयमा सशक्त कथा पस्किनु हो। दैनिक जीवनका मसिना घटनाबाटै कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण छ।
त्यसैले फिचर फिल्ममा जमेका निर्देशकदेखि स्थापित कलाकारले यस्ता फिल्ममा काम गरेका छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले दमदार र उत्कृष्ट कथा भएका तीन छोटा हिन्दी फिल्म सिफारिस गरेका छौं। यी तीनै फिल्म फरक विधा र स्वादका छन् जसले दर्शकको मन छुन्छन्। समीक्षकहरूले प्रशंसा गरेका यी फिल्ममा बलिउडका स्थापित कलाकारहरूले काम गरेका छन्। त्यस्तै थुप्रै अवार्ड पनि पाएका छन्।
रोगन जोशः
भारतीय परिकारको नाममा बनेको रोगन जोश भावनात्मक र मन छुने कथा हो।
करिब १५ मिनेट लामो यो फिल्ममा नसिरूद्दीन शाहको मुख्य भूमिका छ। उनी एक अनुभवी सेफ हुन् जो हरेक मिनेटको ख्याल राख्छन्।
उनी आफ्नो ६५ औं जन्मदिनको अवसरमा श्रीमती, छोरा र दुई साथीहरूका लागि रोगन जोश पकाउँछन्। सुरूमा सबै कुरा सामान्य लाग्छ। तर जसै कथाको अन्त्यतिर पुग्छ, तब फिल्मले अर्कै कथा भन्छ।
कथाले दर्शकलाई झसंग बनाउँछ।
कसरी, पूरा फिल्म हेर्नुहोला।
म्यान वुमन, म्यान वुमन
नसिरूद्दीन शाहले निर्देशन गरेको फिल्म 'म्यान वुमन, म्यान वुमन' उत्कृष्ट प्रेमकथा हो। २६ मिनेट लामो यो फिल्ममा दुई पुस्ताको प्रेम सम्बन्ध देखाइएको छ।
फिल्ममा रत्ना पाठक शाह, विवान शाह, तारूण धनराजगीर र सबा आजादको मुख्य भूमिका छ।
फिल्मको कथा दुई जोडीमा केन्द्रित छ—वृद्ध जोडी र युवा जोडी।
यहाँ रोचक के छ भने, आ–आफ्ना जीवनसाथी गुमाएर बसेका वृद्ध पुरूष र महिला एकअर्काको प्रेममा हुन्छन्। उनीहरू बिहे गर्ने सपना देख्छन्।
अर्कातिर यही जोडीका छोरा र छोरी पनि आपसमा प्रेममा हुन्छन्। तर उनीहरू आफ्नो भविष्यप्रति अनिश्चित छन्।
सुरूमा यो कुरा कसैलाई थाहा हुँदैन।
थाहा भएपछि के हुन्छ, यसका लागि फिल्म नै हेर्नुहोला।
सरी भाइसाब
'सरी भाइसाब' भारतीय मध्यम वर्गीय परिवारको दैनिक जीवनका संघर्ष, आकांक्षा र सामाजिक यथार्थ पस्किने फिल्म हो। हास्यप्रधान र जीवन्त कथा भएको यो फिल्म २० मिनेट लामो छ। यसमा शारिब हाशमी र गौर खान मुख्य भूमिकामा छन्।
फिल्म गुप्ता परिवारको कथामा केन्द्रित छ।
एक दिन उनीहरूको कार घरै अगाडिबाट हराउँछ। यसपछि उनीहरू नयाँ कार किन्न चाहन्छन्। तर चोरले उनीहरूको पुरानो कार फर्काइदिन्छन्।
चोरले किन र कसरी उनीहरूको कार फर्काइदिन्छन्?
के यो नै फिल्मको अन्त्य हो?
पक्कै होइन। रमाइलोसँगै यो फिल्ममा सस्पेन्स पनि छ।
अनि यो फिल्मको नाम किन सरी भाइसाब राखियो, त्यो पनि पूरा फिल्म हेरेपछि नै थाहा पाउनुहुनेछ।