यो फिल्मको सुरूआत एउटा समाचारबाट भयो।
त्यो समाचार तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका गएका भुटानी शरणार्थीहरूको आत्महत्याबारे थियो।
सन् १९९० दशकको सुरूमा भुटानी राजा जिग्मे सिंघे वाङ्चुक र उनको सरकारले एक लाखभन्दा बढी नेपालीभाषी समुदायलाई राज्यबाट लखेटेका थिए। उनीहरू आश्रय खोज्दै नेपाल आइपुगे र शरणार्थीका रूपमा बस्न थाले।
करिब डेढ दशकपछि सन् २००८ देखि संयुक्त राष्ट्रसंघको समन्वयमा भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वास सुरू भयो। अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरूले ती भुटानी शरणार्थीलाई आफ्नो मुलुकमा स्वागत गरे।
यसरी नयाँ जीवनको आशा बोकेर तेस्रो देश पुगेका भुटानी शरणार्थीमध्ये कतिपयलाई नयाँ मुलुक र नयाँ परिवेशमा अभ्यस्त हुन गाह्रो पर्यो।
आफ्नै राज्यबाट लखेटिनुपरेको र सालनाल गाँसिएको माटोसँग नाता तोड्नुपरेको घाउ त मनमा थियो नै, सँगसँगै फरक भाषा र फरक संस्कृतिले ल्याएको एक्लोपनबाट पनि उनीहरू नराम्ररी छटपटाए।
त्यही छटपटाहट सहन नसकेर कतिपयले जीवनभन्दा मृत्युको बाटो सजिलो ठाने।
त्यसै क्रममा अमेरिका पुनर्वासमा गएका भुटानी शरणार्थी समुदायबाट दिनकै चार-पाँच जनाले आत्महत्या गर्छन् भन्ने समाचार पढेपछि नराम्ररी रन्थनिए विनोद पौडेल।
उनले त्यसबारे थप सामग्री पढ्न थाले। जति पढ्दै गए, उनको हुटहुटी उति बढ्दै गयो।
पहिलो फिल्म 'बुलबुल' बाटै राष्ट्रिय चलचित्र अवार्ड जितेका विनोद त्यति बेला थुप्रै फिल्म निर्माताका प्रस्ताव अस्वीकार गरेर बसेका थिए। उनी निर्माताले चाहेको होइन, आफ्नो मनले खाएको फिल्म बनाउन चाहन्थे। त्यो पनि आफ्नै शिल्प र आफ्नै शैलीमा।
'व्यावसायिकताका नाममा मरमसला जोड्ने अभ्यासबाट मलाई दिक्क लागेको थियो। म यस्तो फिल्म बनाउन चाहन्थेँ, जहाँ समाजले आफ्नो आत्मा भेटोस्। जहाँ पात्रको ढुकढुकीलाई व्यावसायिकताले बिथोल्न नआओस्,' विनोदले भने, 'अमेरिका पुगेका भुटानी शरणार्थीको आत्महत्याको खबर पढेपछि मलाई उनीहरूको कथा संसारलाई सुनाउनुपर्छ भन्ने लाग्यो।'
फिल्म पढाउने अस्कर कलेजमा वर्षौं प्रिन्सिपल रहेका विनोदलाई यही हुटहुटीले अमेरिका पुर्यायो।
अमेरिकाका ४० वटा राज्यमा भुटानी शरणार्थी छरिएर रहेका छन्। विनोदले धेरै ठाउँ आफै पुगेर नयाँ र पुरानो जीवनको दोसाँधमा उभिएका शरणार्थीलाई भेटे। उनीहरूका कथा सुने। उनीहरूका सुस्केरा साटे।
र, मह्लम लगाउन नसके पनि न्यानो हार्दिकताका साथ उनीहरूको घाउ सुम्सुम्याउने प्रयास गरे।
शुक्रबारबाट देशभर प्रदर्शन हुन लागेको 'भूठान' तिनै कथा, तिनै सुस्केरा र तिनै घाउ सुम्सुम्याउने प्रयासले जन्माएको सिनेमा हो।
अमेरिकासँग जोडिएको सपना, महत्त्वाकांक्षा र उज्ज्वल भविष्यको आशा त हामीले धेरै सुनेका छौं। लाखौं लाख खर्चेर, मृत्युको जोखिम मोलेर अमेरिका पुगेका युवाहरूको सुखान्त र दुखान्त पनि धेरै सुनेका छौं। तर 'भूठान' ले यस्तो कथा भन्छ, जुन कथामा माटोबाट अलग्गिनुपर्दाको शून्यता छ।
पोखरीबाट सुन्दर एक्वेरियममा सजाइएका माछा साँघुरो घेराभित्र निस्सासिएझैं र घना जंगलबाट बन्धक बनाएर चिडियाखानामा थुनिएका पशुपन्छीझैं लाखौं लाखको सपना र उज्ज्वल भविष्यको आशा जोडिएको अमेरिका पनि कतिपय शरणार्थीका लागि उस्तै बन्धन बनेको छ भन्ने यो फिल्मले देखाउँछ।
'बुलबुल' रिलिज भएको ६ वर्षपछि प्रदर्शन हुन लागेको विनोदको यो दोस्रो फिल्मले आफ्नो देश फर्किन नपाएका भुटानी शरणार्थीको सुस्केरा सुनाउँछ।
सास थामिनुअघि एकपटक भए पनि भुटानको हावामा सास फेर्न पाइयोस् भनेर फडफडाइरहेका शरणार्थीहरूको उकुसमुकुस फुकाउँछ।
प्राण उड्नुअघि एकपटक भए पनि भुटानको माटो टेक्न पाइयोस् भनेर कुरिरहेकाहरूको पर्खाइ चिनाउँछ।
'यो फिल्म मेरो ६ वर्षको सकस, अनगिन्ती भुटानी शरणार्थीहरूसँगको भेट र लामो कुराकानीको उपज हो,' विनोदले फिल्म निर्माणसँग जोडिएको यात्रा विस्तार लगाउँदै भने।

उनी समाचारले जगाएको हुटहुटी मेट्न अमेरिका पुगेपछि विभिन्न राज्यमा बसोबास गर्ने भुटानी शरणार्थीहरूलाई भेट्दै हिँडेका थिए। ती सबैसँग घन्टौं कुरा गर्थे। उनीहरूको अतीतदेखि वर्तमानसम्मका वृत्तान्त खोतल्थे।
एउटा प्रश्न चाहिँ कसैलाई पनि सोध्न छुटाएनन् — तपाईंहरू सपना देख्दा आफूलाई कहाँ पाउनुहुन्छ?
अधिकांशको एउटै जबाफ हुन्थ्यो — भुटान।
उनी त्यति बेला छक्क परे, जब शरणार्थीका रूपमा डेढ–दुई दशक बिताएको नेपाल पनि उनीहरूको सपनामा खासै आउँदैन भन्ने जबाफ सुने।
उनले एक जना यस्ता भुटानी भेटे, जसले भुटानबाट भागेर आउँदा आफ्नो थैलीमा माटो बोकेर ल्याएका रहेछन्। आफू जहाँ जाँदा पनि त्यो माटोको थैली सँगसँगै लिएर हिँड्थे। राति सिरानीमा राखेर सुत्थे। भन्थे, 'मरियो भने आफ्नै माटोमा मरियोस्।'
यति मात्र होइन, उनले थुप्रै वृद्धवृद्धा यस्ता भेटे, जो भुटान फर्किन पाइने आशा मरेर निराशामा डुबेका थिए। तीमध्ये धेरै त विस्मृतिमै गइसकेका थिए।
यस्ता घटनाक्रम देखेपछि विनोद घोत्लिए — मान्छे उडेर जहाँसुकै पुगोस्, उसको अन्तरआत्मा आफ्नै जन्मथलोमा छुटेको हुँदो रहेछ।
उनले सोचे — सपनाको यात्रा भनेको अन्तरआत्माको यात्रा न हो, जसले मान्छेलाई त्यहीँ पुर्याउँछ जहाँ उसको अन्तरआत्मा बसेको छ!
यही सोचाइले विनोदलाई पहिलोपटक भुटानी शरणार्थीबारे फिल्म बनाउन सक्छु भन्ने आत्मविश्वास पैदा भयो।
यसबीच दुइटा यस्ता घटना भए, जसले उनको आत्मविश्वास अझ मजबुत बनाइदियो।
उनी अमेरिकाको बाल्टिमोरबाट एक्रोन सहर गएका थिए। वरिपरि सेताम्मे हिउँ झर्दै थियो। आँखा जति पर डुलाए पनि सेतो हिउँबाहेक केही देखिन्थेन।
त्यही हिउँको रासबीच उनले केही काला संरचना देखे।
हिउँले ढाकिएको अनकन्टार भूमिमा भूत बंगलाझैं लाग्ने ती संरचना देखेर उनले गाडी रोक्न लगाए। तस्बिरहरू खिचे र त्यसबारे सोधपुछ गरे।
ती संरचना धेरै पहिले बन्द भइसकेका रबर कारखाना रहेछन्।
उनले थाहा पाए — त्यहाँको माहोल कुनै बेला गुल्जार थियो। वरिपरि थुप्रै रबर कारखाना थिए। विश्व बजारका लागि ठूलो परिमाणमा टायर उत्पादन हुन्थ्यो। तर मजदुर संगठनका विभिन्न आन्दोलनका कारण ती कारखाना क्रमशः बन्द हुँदै गए। कारखाना बन्द भएपछि रोजगारी गुम्यो। मान्छेहरू पलायन हुन थाले। गुल्जार ठाउँ उजाड बन्दै गयो।
दोस्रो घटना पनि त्यही यात्रामा भएको थियो।
विनोद ती भूत बंगलाजस्ता संरचनाबाट विरक्तिएर जसै अगाडि बढे, उनले केही किलोमिटरको दुरीमा नेपालकै जस्तो ठाउँ भेटे। त्यहाँ घर–घरमा रंगीचंगी फूल फुलेका थिए। झ्याल–झ्यालमा रंगीचंगी पर्दा चढेका थिए। त्यहाँ रहनसहन, बोलीचाली र हाउभाउ सबै नेपाली थियो।
एकातिर रबर कारखानाहरू बन्द भएपछि उजाड बनेको सहर र अर्कातिर नेपालीभाषी भुटानी शरणार्थीहरूको आगमनपछि उजाड सहरले पाइरहेको पुनर्जीवन। एउटै सहरले दुई फरक कालखण्डमा भोगेको फरक जीवनलाई विनोदले समस्त भुटानी शरणार्थीहरूको जीवनयात्रासँग दाँजे।
उनलाई भुटानी शरणार्थीहरूको जीवन पनि कुनै बेला 'रबर सिटी' भनेर चिनिने एक्रोन सहरजस्तै लाग्यो।
त्यही बेला उनको मनमा झिल्का बलेजस्तै भयो।
दिमागमा फिल्मको खाका सजीव भएर आयो।
उनलाई फिल्मको पहिलो नामसमेत सुझ्यो — रबर सिटी।
यसैलाई कामकाजी शीर्षक राखेर विनोदले फिल्म निर्माणको प्रक्रिया अघि बढाए।
त्योभन्दा अगाडि उनले भुटानी शरणार्थीहरूबारे १५ मिनेटको वृत्तचित्र बनाएका थिए। त्यो वृत्तचित्र फिल्म निर्माणको पहिलो विन्दु थियो।

उनी यो फिल्मका लागि अमेरिकामै रहेका प्राविधिक र उपकरण मात्र होइन, कलाकारहरू पनि अमेरिकी नै लिन चाहन्थे। तर यसो गर्दा फिल्मको बजेट एकदमै महँगो पर्ने भयो। एक जना अमेरिकी प्राविधिकलाई दैनिक ६ सय डलरसम्म पारिश्रमिक दिनुपर्थ्यो। यसका लागि उनीसँग लगानीको अभाव थियो।
अमेरिकामा छायांकन गर्दा भोग्नुपर्ने दुःखले पनि उनको बाटो छेक्यो। सार्वजनिक ठाउँमा छायांकन गर्दा सरकारी निकायको अनुमति लिनुपर्थ्यो। घरभित्र छायांकन गर्दा त्यो घरधनीसँग मात्र होइन, वरपरका छरछिमेकलाई पनि पूर्वसूचना दिएर विश्वासमा लिनुपर्थ्यो।
यस्ता अनेक हन्डरले उनको फिल्म निर्माण बीचैमा रोकियो।
त्यति बेला विनोद निकै आत्तिएका थिए। साथीहरू भने उनको मनमा हौसला भरिरहन्थे, 'नआत्तिऊ विनोद, यो फिल्मलाई अर्कै लेभलमा बनाउनुपर्छ।'
त्यसैबीच केही लगानीकर्ता उनीसँग जोडिन पुगे।
तिनले भने, 'बलिउडका केही दिग्गज कलाकार लिएर काम गर्न सक्यौं भने अन्तर्राष्ट्रिय स्तरको फिल्म बनाउन सकिन्छ।'
उनीहरूले अंग्रेजी भाषामा फिल्म बनाउने प्रस्ताव पनि गरे।
विनोदलाई यी दुवै प्रस्ताव खासै चित्त बुझेको थिएन। तर जसरी पनि फिल्म बनोस् भन्ने उत्कट चाहनाले उनी राजी भए।
उनीहरूले चर्चित बलिउड अभिनेता अनुपम खेरलाई मुख्य भूमिकाको निम्ति प्रस्ताव गरे। अनुपम खेरले स्क्रिप्ट सुने र मन पराए।
काम गर्न तयार पनि भए।
सब ठिकठाक भइसकेको थियो, त्यही बेला विनोदको यात्रामा अर्को अड्चन आयो — लगानीको आस देखाएका व्यक्तिहरूमध्ये केहीले मन फेरे।
यसले फिल्मको बजेट फेरि साँघुरियो।
यहाँनिर आइपुगेपछि विनोदले निधो गरे — अब दायाँबायाँ सोच्ने होइन, कम बजेटमा जस्तो फिल्म बनाउन सकिन्छ, त्यस्तै बनाउने। व्यावसायिक मरमसला थप्ने होइन, विषयवस्तुलाई जस्ताको तस्तै संग्लो रूपमा प्रस्तुत गर्ने।
यही निधोपछि उनी मुख्य भूमिकाको प्रस्ताव लिएर हरिवंश आचार्यकहाँ पुगे।
हरिवंशले स्क्रिप्ट चित्त बुझाए र काम गर्न राजी भए।
'उहाँले यो फिल्ममा छाती खोलेर काम गर्नुभएको छ,' विनोदले भने, 'धेरैले यो फिल्मलाई हरिवंश दाइको कलाकारितामा पुनर्जन्म भनेका छन्। उहाँले अभिनयमा गर्नुभएका थुप्रै नयाँ प्रयोग फिल्ममा देख्न पाइन्छ।'
सबभन्दा ठूलो नयाँ प्रयोग त, फिल्मको सुटिङ अवधिभरि हरिवंश आचार्यले न हाँस्ने काम गरे, न हँसाउने।
देशका नामी हाँस्यव्यंग्य कलाकार हरिवंशलाई वाक्य वाक्यमा मजाक फुर्छ। उनी हरेक कुरामा हँसाउने खुबी राख्छन्। तर पात्रको भावना र अन्तरआत्मामा घुस्न आफूले हाँस्ने र हँसाउने काम बन्द गरेको उनले सेतोपाटीसँगको कुराकानीमा बताएका छन्।
'विनोदजीले मलाई यो फिल्म र मेरो भूमिकाको गम्भीरता बुझाउनुभएको थियो। त्यसैले फिल्मका लागि मैले आफूलाई गम्भीर राख्नैपर्थ्यो। म आफू मात्र होइन, मेरो कारणले फिल्म युनिटको मुड नबिथोलियोस् भन्नेमा एकदम सतर्क थिएँ,' हरिवंशले भने।
यसबारे मदनकृष्ण श्रेष्ठले पनि सेतोपाटीसँग भनेका छन्, 'यो फिल्म सुटिङ गर्दा बेला बेला हाम्रो टेलिफोन कुराकानी हुन्थ्यो। मैले केही हँसाउने कुरा गरेँ भने हरिवंश 'नहँसाउनुस् न दाइ' भनेर भन्थ्यो।'
यही समर्पणले हो, हरिवंश आचार्यले पात्रको भोगाइ र अनुभूतिलाई दर्शकको मन सिरिंग हुने गरी जस्ताको तस्तै झल्काउन सफल भएका छन्।

फिल्ममा चर्चित हलिउड अभिनेता ब्रुस डर्नको पनि भूमिका छ। उनलाई अभिनय गराउने सोच कसरी आयो? हामीले यसबारे पनि निर्देशक विनोद पौडेलसँग कुरा गर्यौं।
उनलाई फिल्ममा एक जना अमेरिकी कलाकार चाहिएको थियो। सम्भव भए ब्रुस डर्नसँग काम गर्न पाए हुन्थ्यो भन्ने उनी चाहन्थे।
ब्रुस डर्न दुईपटक अस्कर मनोनित हलिउड अभिनेता हुन्। विनोदले उनको अस्कर मनोनित फिल्म 'नेब्रास्का' हेरेका थिए र फ्यान भएका थिए।
विनोदको इच्छा बुझेपछि निर्माताहरूले ब्रुसका एजेन्टसँग सम्पर्क बढाए र कुराकानी गरे।
नभन्दै एकदिन ब्रुस डर्नको फोन आयो।
'उहाँसँग दुई घन्टा कुराकानी भयो,' विनोदले भने, 'उहाँले स्क्रिप्टको तारिफ गर्नुभयो। जति लेखेको थिएँ, त्योभन्दा दस गुणा बढी तारिफ पाएँजस्तो लाग्छ।'
ब्रुस डर्नले उनलाई भनेका थिए, 'यो मेरो लागि फरक खालको फिल्म हो। मलाई यसको विषयवस्तुले धेरै छोयो। यसले जीवनको बाहिरी तह होइन, भित्री तहको कुरा गर्छ। यस्तो फिल्मको हिस्सा हुन पाउनु म सौभाग्य ठान्छु।'
विनोदका अनुसार ब्रुसले स्क्रिप्ट पढेपछि कम पारिश्रमिकमै काम गरेका थिए।
'हलिउडका दिग्गज कलाकार भएर पनि उहाँले हामी कसैलाई असहज अनुभव गराउनुभएन,' विनोदले भने, 'उहाँ आफ्नो टिमसँग आउनुहुन्थ्यो। टिमलाई छुट्टै पैसा पनि दिनुपर्थ्यो। तर कामको मामिलामा उहाँबाट कुनै सम्झौता भएन। सबैसँग मिलेर काम गर्नुभयो। मैले उहाँबाट धेरै सिक्न पाएँ।'
सिक्ने कुरा गर्दा, विनोदले हलिउडको तौरतरिका बुझ्न नेटफ्लिक्सको एउटा फिल्ममा काम गरेका थिए। छायांकन सेटको भव्यता देखेर उनी अचम्मै परे।
त्यसै क्रममा एकदिन पानी परेको दृश्य खिचिरहँदा उनलाई लाग्यो, जतिसुकै महँगो सेट बनाए पनि आखिर निर्देशकले भर्ने भनेको एउटा फ्रेम न हो! फ्रेममा जति अटाउँछ, त्यस बाहेकको दृश्य दर्शकले देख्ने होइन। त्यसैले कति महँगो सेट राखेर फिल्म बनाएँ भन्दा पनि कसरी बनाएँ भन्ने महत्त्वपूर्ण कुरा हो!
'यो आत्मबोधले मेरो मनमा ठूलो हौसला भर्यो,' विनोदले भने, 'मैले त्यही दिनबाट त्यो फिल्म छाडिदिएँ र पूर्णकालीन रूपले भूठानको तयारीमा लागेँ।'
विनोदको जीवनयात्रामा यस्ता थुप्रै आत्मबोधका किस्सा जोडिएका छन्।
उनी अभिनेता बन्ने सपना देखेर कपिलवस्तुबाट काठमाडौं आएका थिए। अभिनेताका रूपमा 'सिग्नेचर' फिल्ममा काम गरे। तर त्यो फिल्म रिलिज भएन।
त्यस्तै, 'डर' भन्ने फिल्ममा एउटा भूमिका खेल्ने तय भएको थियो। ललितपुरको भैंसेपाटीमा सुटिङ थियो। विनोद त्यहाँ पुगे। पालो कुर्दै घाममा उभिइरहे। उनले पानी पिउन पनि पाएका थिएनन्। उनलाई झोँक चल्यो। आफैलाई प्रश्न गरे — मैले यत्ति गर्न फिल्म पढेको हो? यसकै लागि संघर्ष गरेको हो?
उनले यो पनि सोचे — यो फिल्म खेलेर मलाई के फाइदा?
यस्ता प्रश्नले मन घोच्न थालेपछि उनी सुटिङ नै नगरी फर्किए।
त्यही आत्मबोधपछि उनले निधो गरे — अब म आफै फिल्म बनाउँछु।
'साँघुरो' फिल्मको स्क्रिप्ट लेखन र 'बुलबुल' को निर्देशन त्यही आत्मबोधका नतिजा हुन्।
र, त्यसैको निरन्तरता हो — भूठान।
भूठान भुटानी शरणार्थीहरूले बाँच्नुपरेको जीवनको कथा भए पनि हरेक मान्छेले यसमा आफूलाई पाउँछ। किनभने, माटो होस् वा मुटु — यी दुवैसँग छुट्टिनुपर्दाको पीडा सबैको उस्तै हुन्छ।
'नेपालमा पनि आज हरेक घरबाट एक न एक जना सदस्य परदेश गएका छन्। कोही बाध्यताले, कोही इच्छाले। यसले घरबार टुटेको छ। परिवार छिन्नभिन्न भएको छ। भूठान ती सबैको भोगाइ हो,' विनोदले भने।
उनले अगाडि भने, 'यो फिल्म हेरेपछि स्वदेशमा बसेकाले विदेश गएका आफन्त सम्झने छन्। विदेशमा भएकालाई आफ्नो माटोको मायाले तान्नेछ। आज अमेरिकामा प्रशस्त पैसा कमाएर बसिरहेको नेपाली पनि एक न एक दिन स्वदेश फर्किन्छु भनेर सोचिरहेको छ। आफ्नो अस्तित्वसँग जोडिएको भावना भनेको एकदमै संवेदनशील हुँदो रहेछ। भूठानले त्यही भावनाको कुरा गर्छ। घर हराएका मान्छेहरूको कुरा गर्छ। ती मान्छे जो पनि हुन सक्छन्।'
'भुटानी शरणार्थी त कथा भन्ने माध्यम मात्र हो। वास्तवमा यो सिनेमा माटो र मुटुसँग टाढिएका हरेक मान्छेको अनुभूति हो।'
***
