लक्ष्मी बर्देवा अभिनयको बलले नेपाली चलचित्र क्षेत्रमा स्थापित भइरहेकी छन्। उनले महिला टेम्पो चालकको भूमिकामा खेलेको पछिल्लो फिल्म 'बुलबुल' सफल रह्यो। उनको अभिनयले दर्शकसम्म अलग्गै प्रभाव छाड्यो।
त्यो प्रभावलाई पशुपतिप्रसादमा विपीन कार्कीले गरेको 'भष्मे डन' पात्रसँग पनि तुलना गर्न सकिन्छ। अहिलेका केही सिनेमामा पात्रको चरित्र र सम्बन्ध निर्माण पृथक् हुँदै गइरहेका छन्। पात्रहरू पुराना ढर्राका फिल्महरूजस्ता निरस छैनन्। छोटो भूमिका होस् वा लामो, तिनमा जीवन देख्न थालिएको छ। यो नेपाली चलचित्र क्षेत्रकै लागि सुखद् समाचार हो।
मण्डला थिएटरमा अभिनय सिकेपछि लक्ष्मीले धेरै नाटकहरूमा अभिनय गरिन्। त्यो अभिनय छोटा फिल्म तथा म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुग्दा पात्र निर्माणमा उनले धेरै अनुभव बटुलेकी छन्।
सुरज सुवेदीसँगको यो कुराकानीमा उनले नेपाली फिल्म क्षेत्र, महिलाको शरीर र साना पात्रहरू बारेमा बोलेकी छन्। एउटा मान्छेको शरीर कसरी कलाकार बन्छ? उसले अभिव्यक्तिको माध्यम कसरी खोज्छ? सामाजिक परिवेशहरूले त्यसमा प्रभाव कसरी पारिरहेको हुन्छ? भन्ने जस्ता विषयहरू यहाँ टिपिएका छन्।
एउटा कुनै अन्तर्वार्तामा म शरीर बेच्न होइन, कला बेच्न आएको हुँ भन्नुभएको थियो है!
हामी कलाकार बन्न आउने महिलाहरूले धेरै सुनिरहेको कुरा हो यो। यसलाई अझ हिरोइन बन्न आएको पनि भनिन्छ। नबुझ्नेहरूले अहिले पनि यस्तै सोच्छन्। कुनै भेटघाटमा २-४ जना सिनियरहरूले यही सन्दर्भमा कुराकानी हुँदा हिरोइन त्यत्तिकै बनिँदै भन्ने कुरा गरिरहेको सुनेको थिएँ। तिनले मलाई व्यक्तिगत रूपमा 'अप्रोच' त गरेनन् तर हिरोइन बन्न आउनेहरू प्रयोग भइरहेका छन् भन्ने गफ भने दिए।
उनीहरूले शरीर र अनुहारलाई लिएर 'हिरोइन मेटेरियल' तोकेका छन्। त्यसको बाउन्ड्रीमा नअट्ने नयाँ कलाकारहरू शारीरिक रूपमा प्रयोग हुन्छन् भन्ने उनीहरूको बुझाइ थियो। म कलाकार बन्न आएकी हुँ त्यसैले कलाकारिताबाहेक अरू चिजहरू गर्न सक्दिनँ भनेकी हुँ। सायद त्यसैले पनि मैले थिएटर खोजेकी थिएँ होला। मेरो अवचेतन मस्तिष्कमा अभिनय सिकेर काम गर्यो भने त्यसरी प्रयोग हुनुपर्दैन भन्ने लागेको हुनसक्छ।
समाजले महिला शरीरलाई निर्माण गर्ने रहेछ उसो भए?
यो आज सुरु भएको हैन। जति बेला समाज विकास भयो त्यति बेलादेखिनै भइरहेको कुरा हो। र यो मानसिकता परिवर्तन गर्न पनि समय लाग्छ किनकि यो अहिलेकाले मात्र बनाएको पनि होइन। उ बेला महिलाहरू घरमा बस्ने र पुरुषहरू सिकारमा जाने चलन थियो। त्यही अवस्थालाई पछि समाजले पुरुष शक्तिशाली र महिला कमजोर भनेर बुझ्यो। समाजको सुरुवात हुँदै गर्दा जनावरहरूको आक्रमणबाट बच्न पुरुषहरू चाँडो भागेको महशुस भएपछि गरिएको श्रम विभाजन थियो त्यो।
साथै महिलाहरूले बच्चा पनि जन्माउनुपर्ने जिम्मेवारी भएको कारण त्यसलाई अगाडि बढाइयो। तर त्यसलाई महिलाभन्दा पुरुष बलियो हुन् भन्ने कथा बनाइयो। त्यो सोच अझै बलियो भयो। स्वीकार्नेहरूको संख्या बढ्यो। त्यसैबाट मिथकहरू बने। सिकार खेल्ने क्रममा गति कम भयो होला, बच्चा जन्माउँदा शरीर कमजोर पनि भयो होला, त्यसैले घरमै बस्नुपर्ने भयो होला।
तर महिलाको शारीरिक अवस्थाको कारण बाँडिएको श्रमको आधारमा उनीहरूले सोचाइमा पनि यिनीहरू हामीभन्दा कम छन् भन्ने सोच्न थाले। यिनीहरू हामीभन्दा तल नै हुनुपर्छ भन्ने बुझ्न थाले। हामीभन्दा बढी बोल्नु हुँदैन भन्ने क्रम पनि त्यसरी नै आयो। त्यसरी नै लुगा लगाउने कुरामा पनि सीमितता दिन थालिएको हो। यस्ता सीमाहरू अहिले पनि व्याप्त छन्। यो मैले पनि भोगेको छु। मान्छेहरू मलाई पनि कस्तो प्याच्च बोलेको भनिरहेका हुन्छन्।
तपाईंले हुर्किएको समाजले महिला भएको भनेर कसरी सम्झाइरह्यो?
मेरो घरबाट कुनै समस्या भएन। तर मैले पहिलोपल्ट केटा साथीलाई घरमा लैजाँदा आफन्त र छिमेकीले काटेको कुरा परिवारले सुन्यो। आमाबुवालाई छोरीले केटाहरू घरमा लिएर आउँदा पनि किन केही नभनेको भन्थे। सानोमा मेरो कपाल केटाको जस्तै थियो। उनीहरू केटी मान्छे भएर कपाल पाल्नुपर्छ भन्थे। कपाल बाटेर हिँड्नुपर्ने नगरेकाले अल्छी पनि भन्थे। अहिले त यस्तो भइरहेको हुन्छ भने यो दशक पहिलाको कुरा।
महिनावारी हुँदा बार्ने कुरामा पनि रोकटोक हुन्थ्यो। त्यस्तो भएको बेला म दाइसँग खेल्थेँ। उनीहरू मलाई पापको डर देखाएर नर्क जान्छेस् भन्थे। म उ बेला त्यस्तो सुनेर डराउँथे। यस्ता खाले धेरै डरहरू पनि हाम्रो दिमागमा भरिन्छ। कमजोरी पत्तो लगाएर हामीलाई डरले शासन गर्दो रहेछ।
थिएटरमा आउनुले त्यो अनुभवप्रतिको बुझाइ कसरी फरक भयो?
मैले थिएटरमा आएपछि यो कुरा थाहा पाएको होइन, बरु थाहा पाएर चाहिँ थिएटरमा आएको हो। म पहिला देखिनै यस्तो कुराको विरोधी थिएँ। यस्ता अनावश्यक चिजहरू आफूमा हावी हुन कहिल्यै दिइनँ। विद्रोह गरिहाल्थेँ। आफूलाई धेरै कुरामा चित्त नबुझेपछि आफू जस्तो समाज कहाँ छ वा मान्छे कहाँ छन् भन्ने खोज्दै गर्दा थिएटरमा आइपुगेकी हुँ।
थिएटरमा मैले त्यस्ता मान्छे भेटेँ। यहाँ केटाकेटी भन्ने खाले विभेद हुँदैन। हामी राती १२ बजेसम्म रिहर्सल गरिरहेका हुन्छौं। आफैंले बरु कहिलेकाहीँ म केटी मान्छे हुँ है भनेर सम्झिनुपर्छ।
कसैले लेखेको कथा, कसैले बनाएको पात्र, वा कसैले बनाएको परिवेशसम्म कलाकार भएर यात्रामा कसरी जानुहुन्छ?
थिएटरमा सबभन्दा पहिला सिकेको नै पात्र निर्माण हो। म कक्षा १० मा पढ्नुभन्दा पहिला नै पनि स्कुलमा नाटक गर्थें। तर पात्र निर्माण के हो भनेर थाहा थिएन। अभिनय गर्दा त अर्को पात्र भनेर मैले आफूलाई नै प्रस्तुत गरेको रहेछु। त्यो कुरा अहिले बुझेपछि थाहा भयो। पात्रमा आफू कसरी एडप्ट हुने भन्ने थाहा नभएर त्यस्तो भएको रहेछ।
आफूलाई पात्रमा ल्याइन्छ चाहिँ कसरी? कुनै मान्छे वा विषय सोच्दा पनि आफ्नो अनुभव नै मिसिएर आउने हैन?
नाटक वा फिल्मको स्क्रिप्टमा पात्र मृत हुन्छ। त्यसलाई जीवित बनाउन के के हाल्ने भन्ने मेरो कुरा हो। त्यस क्रममा कसैको दिमाग वा कसैको हात वा कसैको चालढाल आउन सक्छ। त्यो पनि मलाई नै थाहा हुन्छ। ती कुराहरू मैले देखेकै वा भोगेकै चिजहरूबाट आउँछन्। मलाई प्रभाव पार्ने चिजहरूलाई नै मिसाएर म नयाँ पात्र बनाउँछु। त्यसैले पनि कलाकारको अनुभवबाट त पात्र कहिल्यै टाढा रहनै सक्दैन।
मानौं, सीता भन्ने वास्तविक मान्छेको पात्र भएर काम गर्दैछु भने पनि मैले आफ्नो सोचाइको माध्यमबाट सीता हुन प्रयत्न गर्ने हो। मैले सीतालाई बनाउने क्रममा चिनेका वा संगत गरेका महिला पात्रका धेरै कुरा मिसाउन सक्छु।
फिल्ममा निर्देशक वा लेखनमा लेखकले पनि आफूले देखेको वा भोगेका त्यस्तै चिज टिपेर पात्र बनाएका हुन्छन्। त्यो उनीहरूको अभिव्यक्तिको माध्यम पनि हो। त्यसलाई दृश्यमा लैजाँदा तपाईं आफ्नो अनुभव पनि मिसाउनुहुन्छ। निर्देशकले चलाउने अनुभव, लेखकको अनुभव र कलाकारको अनुभवबीच सन्तुलन कसरी हुन्छ?
मानौं, मैले सुदुरपश्चिमको पात्रको अभिनय गर्नुपर्ने भयो, त्यो लेखकको माग छ। तर म सुदुरपश्चिम पुगेकी छैन। पात्र कस्तो हुन्छ वा कसरी बोल्छ भन्ने कुरा धेरै त स्क्रिप्टमै हुन्छ। त्यसको लवाइ तथा बोल्ने शैली पनि लेखिएको हुन्छ। त्यसमा मैले थप गर्ने भनेको पात्रलाई विश्वासयोग्य बनाउने प्रयत्न हो। त्यो पात्रलाई हेरिरहँदा अभिनय गर्ने कलाकार सुदूर पश्चिम कहिल्यै पनि नपुगेको देखिनु हुँदैन। अभिनय गर्न खोजेको देखिनु हुँदैन।
कसरी?
'लछुमनिया' नामको छोटो फिल्म तथा 'माथा पन्चर' नाटकमा मैले तराइको महिलाको भूमिका गरेकी थिएँ। म चितवनबाहेक तराइ पुगेकी छैन। माथा पन्चरमा ६५ वर्षकी तराइकी महिला भएर अभिनय गर्नु थियो। त्यो पात्रले मैले बोल्ने भाषा बोल्दैन थियो। स्क्रिप्ट अवधि भाषामा थियो। रिसर्च गर्न कतै जान नपाएकाले मैले यहाँ काठमाडौं चटपटे खान जाँदा देखेकी महिलालाई भेटेँ। उहाँ उस्तै भाषा बोल्नुहुन्थ्यो। उहाँको छोरा रहेछन्। मैले गर्न लागेको पात्रको पनि छोरा थियो। उहाँ कसरी छोरासँग बोल्नुहुन्थ्यो, कसरी काम अह्राउनुहुन्थ्यो, माया गर्दा कसरी गर्नुहुन्थ्यो जस्ता कुराहरू अवलोकन गरेको थिएँ।
म हरेक दिन रिहर्सल सकेर उहाँलाई भेट्न जान्थेँ। सर्ट मुभीमा काम गर्दा पनि म प्रायः सुटिङ हुनेभन्दा एक-दुई दिन पहिला नै 'लोकेसन' पुग्न मनपराउँछु। मान्छेहरूसँग बस्छु। बोल्न प्रयास गर्छु। त्यसो गर्दा पात्र टिप्न सजिलो हुन्छ। म युट्युबमा हेरेर चरित्र निर्माण टिप्न सक्दिनँ।
कलाकारले आफूले गर्ने पात्र निर्माणको लागि के के कुराहरू खोज्छ?
मैले स्क्रिप्ट पढ्दा पहिला 'ट्रस्ट इस्युज' आइरहेको हुन्थ्यो। यो पात्रले यस्तो गर्ला र भन्ने सोच्थेँ। तर फेरि त्यो सोचेको त एक कलाकारले हो। पात्रले के गर्न सक्छ सक्दैन भन्ने कुरा त म एक कलाकारलाई थाहा हुँदैन। अहिले त्यस्तो सोच्दिनँ किनकि त्यो पात्रले के गर्न सक्छ भन्ने कुरा मलाई थाहा छैन। त्यो तराइमा बस्छ भन्दैमा हिमाल चढ्न सक्दैन भनेर मैले भन्न मिल्दैन।
'बुलबुल' मा मलाई सजिलो किन भयो भने दाइहरूसँग त्यो पात्र यस्तो हुनुपर्छ भन्ने एकदमै स्पष्ट ड्राफ्ट थियो। त्यसमा मैले थप्नुपर्ने भनेको उसले अझै के के गर्न सक्छे भनेर खोज्नु थियो। पात्र कति माथि पुग्न सक्छ र कति तल झर्न सक्छ त्यो खोज्ने। विनोद दाइले जो मान्छेलाई हेरेर त्यो पात्र बनाउनुभएको थियो मलाई उहाँसँग चिनाइदिनुभयो। त्यो दिदीलाई मैले फिल्मको लागि सिकिरहेको भन्ने कुरा थाहा थियो तर उहाँकै पात्र भएर अभिनय गर्दैछु भन्ने थाहा थिएन।
'उहाँ ट्याम्पु सिक्दै हुनुहुन्छ, तपाईंसँग घुम्ने रे' भन्दिनुभएको थियो दाइले। उहाँसँग हिँडेपछि मैले धेरै कुरा फरक पाएँ। औधी रमाइलो भयो। उहाँ त ट्राफिकलाई जिस्काइ दिनुहुन्थ्यो। जाममा परेको बेला पल्लो लहरमा गाडी कुदाइरहेको ड्राइभरलाई जिस्काउनुहुन्थ्यो। कस्तो फरक। उहाँले त्यस्तो गर्नुहोला भनेर मैले सोचेकै थिइनँ।
बाहिरबाट हेर्दा यो पात्रले यस्तोसम्म गर्न सक्छ भन्ने थाहै नहुने। पात्रले के गर्न सक्छ वा के गर्न सक्दैन भन्ने कुरा मलाई थाहा नहुने रहेछ भन्ने कुरा त्यसपछि महशुस भयो। कलाकारको रूपमा मैले पात्रलाई मूल्यांकन गर्न नमिल्ने रहेछ।
ट्याक्सीलाई जिस्काएको दृश्यमा नहोला तर ट्याक्सीलाई जिस्काउँछ भन्ने सचेतना लक्ष्मीलाई भयो। त्यो जानकारी हुनुले उक्त पात्र भएर अभिनय गर्नुमा कसरी फरक पार्छ?
उहाँले ट्राफिकलाई जिस्काउनुले उहाँको बानी वा प्रकृतिबारे थाहा दियो। उहाँको 'जोली नेचर' रहेछ। जिस्काउँदा कसरी जिस्काउनुहुन्छ भन्ने पनि थाहा भयो। र जिस्काउने मुड चल्यो भने कसैलाई चिनिराख्नु पर्दैन रहेछ भन्ने थाहा भयो। जाममा रोकिएको बेला पल्लो भ्यानको ड्राइभरलाई जिस्काउनु उहाँको नेचर हो।
त्यो घटनाबाट टिपेर मैले फिल्ममा स्वस्तिमा खड्काको पात्रलाई केटाहरूसँग जोडेर जिस्काइरहेको हुन्छु। जबकि मलाई थाहा हुन्छ कि उसको श्रीमान छ। ट्राफिकलाई जिस्काउने दृश्य राख्ने भन्ने सोचेका थियौं तर मिलेन। त्यसको साटो ट्याम्पुमा पैसा उठाउन आउने भाइलाई जिस्काइदिएको छु। यो पात्रले यस्तो गर्छ भन्ने कुरा थाहा हुँदा धेरै कुरा गर्न सकिन्छ। हरेक कुरा थाहा पाउनुले प्रभाव पार्छ। मैले पात्रले यस्तो गर्छ भन्ने थाहा पाएको विवरणले मलाई अभिनयमा कहीँ न कहीँ मद्दत गर्छ। त्यही दृश्य नहोला तर कहीँ न कहीँ मज्जाको निस्किन्छ।
नेपाली फिल्ममा पहिला पहिला सानो पात्र अर्को पात्रलाई स्थापित गर्न वा सुरक्षित गर्न मात्र बनाइएका हुन्थे। सानो पात्र त्यसरी पनि ख्याल हुँदैन थियो। तर अहिले समय फेरिएको जस्तो लाग्छ। अहिले सानो पात्रले अर्को पात्रलाई सहयोग गर्नु सँगसँगै पूरै जीवन नै फिल्ममा बाँच्न थालेको देखिन्छ। तिनका कथा आफैं स्वतन्त्र हुन थालेका छन्। यो परिवर्तनलाई कसरी नियाल्नुहुन्छ?
यो सबै प्रक्रियाको कुरा हो। आजभन्दा २० वर्ष पहिलाको फिल्म बनाउने, कथा र समाज भिन्न थियो। केही विधाबाहेक फिल्मले वर्तमान समय नै देखाइरहेको हुन्छ। मान्छेले पनि अहिलेकै कुराहरू खोजिरहेका हुन्छन्। पहिला फिल्ममा हिरोहिरोइन हुन्थे। उनीहरूको वरपर प्रेम, घृणा, षड्यन्त्र, रिस, बदला आदि घुम्थे।
तिनका 'प्याटर्न' प्रायः उस्तै हुन्थे। त्यो त्यति बेलाको फिल्मप्रतिको बुझाइको प्रतिबिम्ब थियो। त्यो कुरालाई देखाइन्थ्यो। बनाउनेको दिमागमा निर्धारित फिल्मको सिधा परिभाषा पर्दामा आउँथ्यो। स्क्रिप्ट लेख्नेहरू पनि बाहिर जानुभन्दा घरमै बसेर लेख्थे। उनीहरूले प्रेम लेखे तर प्रेम पर्दा साँच्चिकै त्यस्तो हुन्छ कि हुँदैन भन्ने कुरा सोचेनन्। प्रेममा आमाबाबु भिलेन हुन्छन् नै भन्ने थिएन। कथा साँच्चै हुन्छ कि हुँदैन भनेर खोज्ने चलन पनि थिएन।
तर अहिले मान्छे 'फ्लोर'मा जानैपर्छ। आँखीझ्यालबाट हेरेर संसार यस्तै छ भनेर अब पुग्दैन। अहिले फिल्म निर्माणको दृष्टिकोण परिवर्तन भएको छ। अहिले हामी भिन्दै कथा खोजिरहेका छौं। देखाउने तरिका फरक खोजिरहेका छौँ। अब मान्छेहरूले अनुसन्धान गर्न थालेका छन्। त्यसले उनीहरूलाई हरेक पात्रको आफ्नो कथा छ भन्ने कुरा थाहा दिएको छ।
मैले अभिनय गर्ने पात्र साथीको 'लभ' पार्दिन जन्मिएको होइन। उसको छुट्टै कथा र जीवन छ। अब उसको कथा पनि आउनुपर्छ। ऊ कसैको बिहेमा जन्ती जान मात्र पनि आएको हैन। कम्तीमा हरेक साना पात्रले पनि आफ्नो अस्तित्व पाउनुपर्यो। अब फिल्म निर्माताहरूले यही कुराको जवाफ खोज्न थाल्नु भएको छ। हरेक मान्छे अहिले स्वतन्त्र छ। उनीहरूको आफ्नै कथा छ।
यति धेरै पात्रहरू गर्दै गर्दा त्यसमा गरिने काम दोहोरिएला भन्ने चिन्ता छ?
दोहोरिएला भन्ने डर त लाग्छ। सायद अभिनय गर्ने सबैलाई यस्तो हुन्छ होला। म अभिनय नै गर्न भनेर आएकी मान्छे। तर म हरेक दिन नयाँ कुरा भोगिरहेको छु। मतलब मैले हरेक दिन नयाँ पात्र भेटिरहेको छु। भोगाइ त सकिँदैन। नयाँ मान्छे भेटिरहेकी छु। नयाँ ठाउँ गइरहेकी छु।
त्यो चिजलाई लिएर मेरो मनस्थिति पनि परिपक्व भइरहेको छ। हिजो मैले जुन पात्र गरेी थिएँ त्यसलाई आज गर्नुपर्यो भने अलि फरक तरिकाले गर्छु होला। समयले नयाँ नयाँ चुनौती दिइरहन्छ। त्यसैले डर लागे पनि म यी कुरा जसरी पनि गर्छु भन्नेमा आत्मविश्वासी छु।