ललितपुरको पिम्बहाल पोखरी नजिक साँल्ह गल्लीमा एउटा परम्परागत शैलीको घर छ, जहाँ काष्ठकलाले सुसज्जित झ्यालहरू छन्। ती झ्याल बीच भागबाट काटिएका छन्।
झ्याल मात्र होइन, त्यो घर पनि बीचबाट चटक्क काटेर आधा गरेजस्तो देखिन्छ, जसको एकापट्टिको भाग परम्परागत शैलीकै छ भने अर्कोपट्टिको भाग आधुनिक शैलीमा बनेको छ। आधुनिक घरका झ्याल पनि आधुनिक शैलीकै छन्।
एउटै घरमा दुई भिन्न स्वरूप कसरी आयो त?
जबाफ सरल छ।
दाजुभाइको अंशबन्डाले एउटै घर दुई भाग लागेपछि यस्तो भएको हो। काठमाडौंमा नेवाः शैलीका घरहरू यसरी नै बाँडफाँट भएर टुक्राटुक्रा काटिएका थुप्रै उदाहरण छन्।
त्यही घरबाट करिब १५–२० मिटर पर एउटा आधुनिक घर छ, जहाँ काष्ठकलाले भरिपूर्ण एउटा आँखीझ्याल सुन्दर ढंगले सजाइएको देखिन्छ।
झ्यालले घरको शोभा मात्र बढाउँदैन, हावा र घाम छिर्ने बाटो पनि दिन्छ। घरमा बस्ने मान्छेलाई बाहिरी संसारसँग जोड्छ। नभए सोच्नुस् त, इँट्टै–इँटाले घेरिएको अँध्यारो कोठाजस्तो घर कस्तो होला?
काठमाडौंमा एक समय यस्तो थियो, जब झ्यालको ढाँचाले मान्छेको सम्पन्नता झल्काउँथ्यो। जति धेरै आँखीझ्याल, उति सम्पन्न! अहिले यो मानक हराउँदैछ। सबैजसो घर एकनासे छन्, सबैजसो झ्याल उस्तै देखिन्छन्।
काठमाडौंका घरमा देखिने झ्यालको यो परिवर्तनलाई पाटनका कलाकार समृद्धिरत्न शाक्य र कपिलवस्तु घर भई हाल हात्तीवन बस्ने कलाकार सुबोध भण्डारीले आफ्नो सिर्जनामार्फत् प्रस्तुत गरेका छन्।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी 'अन्डर द सेम रूफ' नामक प्रदर्शनी यी दुई कलाकारका तिनै झ्याल सिर्जनाको संकलन हो।
समृद्धिरत्न शाक्य (बायाँ) र सुबोध भण्डारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यो प्रदर्शनीले काठमाडौंका परम्परागत झ्यालको अवस्था बताउँछ। त्यसमा आएको आधुनिकता झल्काउँछ। र, झ्यालभित्रको संसारबारे कौतूहल जगाउँछ।
यहाँ पाँच सयभन्दा बढी झ्याल छन्। परम्परागतदेखि आधुनिक झ्यालका विभिन्न ढाँचा देख्न सकिन्छ। पानीले मक्किएका झ्याल देख्न सक्नुहुन्छ, पुरानो भएर भत्किएका वा भाँचिएका झ्याल देख्न सक्नुहुन्छ। अंशबन्डामा बाँडिएका झ्यालदेखि केही सग्ला झ्यालहरू पनि देख्न सक्नुहुन्छ। कुनै झ्यालमा मिहिन बुट्टा कुँदिएका छन् भने कुनैमा स–साना प्वाल छन्। कुनैमा त ग्रिल नै ठोकिएका छन्।
त्यस्तै, कुनै झ्यालमा लुगा सुकाइएका छन् भने कुनैमा फूलमाला टाँगिएका छन्। कुनै झ्याल खुला छन्, कुनै बन्द। कुनैमा हरियो रङ पोतिएको छ, कुनैमा निलो। कुनै सेतो छ, कुनै खैरो।
हेर्दै जाँदा, कुनै झ्यालमा मानिस अडेस लगाएर बसिरहेको देखिन्छ। कुनै झ्यालबाट मानिसहरू बाहिर हेरिरहेका देखिन्छन्।
पाटनमै जन्मे–हुर्केका कलाकार समृद्धिरत्नले काठमाडौं उपत्यकामा किसिम–किसिमका झ्याल देखेका छन्। उनले देख्दा देख्दै कति झ्याल अंशबन्डामा आधा–आधा भाग लागेका छन्। झ्यालसँगै घर र त्यहाँका बसोबासी आधुनिकतातिर उन्मुख भएका छन्।
बाल्यकालदेखि युवावस्थासम्म आइपुग्दा फेरिएको काठमाडौं उपत्यकाबाट प्रेरित भएर नै आफूले यस्तो सिर्जनामा काम गरेको उनी बताउँछन्।
उनका सहयात्री सुबोध भने कपिलवस्तुमा जन्मे–हुर्केका भए पनि बेलाबखत काठमाडौं आइरहन्थे। यहाँका बहाः बहीः घुमिरहन्थे। तिनमा भएका झ्याल र झ्यालका वास्तुकला नियालिरहन्थे। स्नातक पढ्न काठमाडौं आएपछि भने तिनै झ्याललाई उनले कलाकारको दृष्टिले हेर्न थाले।
सुबोध र समृद्धिरत्नले काठमाडौं विश्वविद्यालयबाट फाइन आर्टस् (बिएफए) मा सँगै स्नातक गरेका हुन्। उनीहरू कलेजमै साथी बने। र, दुई वर्षअघि कलेजले गराएको एउटा प्रोजेक्टबाट कलामा सहयात्री पनि भए।
यो उनीहरू बिएफए चौथो वर्ष पढ्दै गर्दाको कुरा हो। त्यो प्रोजेक्टमा काठमाडौं विश्वविद्यालयसँगै भारतको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चर र जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयका विद्यार्थी सहभागी थिए।
तीन देशका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गर्दा समृद्धिरत्न र सुबोध एकैमा परे।
उनीहरूको कार्यक्षेत्र काठमाडौंको इतुम्बहाल थियो। नयाँ र पुरानो सभ्यता कसरी एकसाथ सह–अस्तित्वमा छन् भन्नेबारे उनीहरूले काम गर्नुपर्ने थियो। त्यसका लागि उनीहरूले झ्याललाई आफ्नो विषय छाने।
'सुबोध र मेरो आइडिया उस्तै उस्तै थियो,' समृद्धिरत्नले भने, 'हाम्रो काम वास्तुकलामा केन्द्रित थियो। त्यो प्रोजेक्टका आधारमा हामीले पछि पनि सँगै काम गर्ने सल्लाह गरेका थियौं।'
अहिले जारी प्रदर्शनी 'अन्डर द सेम रूफ' त्यही प्रोजेक्ट र सल्लाहले जन्माएको हो।


दुई वर्षअघि बनेको समृद्धि र सुबोधको जोडीले खासगरी वास्तुकलामा केन्द्रित रहेर काम गर्दै आएको छ। तर उनीहरूले कलाका विभिन्न आयामलाई समयसँगै पर्गेल्दै, पछ्याउँदै आएका छन्।
कुनैमा 'रेजर कटिङ' प्रविधिमार्फत् काठ काटेर झ्यालका डिजाइन बनाएका छन्। कुनैमा नेपाली कागज प्रयोग गरेका छन्। कुनै कला प्लास्टरको ब्लकमा कुँदिएको छ भने कुनै सिसामा।
'सुरूमा हामी कागजमा काम गर्थ्यौं। तर कागज लामो समय टिकाउ हुन्न, जतन गर्न पनि गाह्रो हुन्छ। त्यही भएर अरू माध्यममा पनि काम गर्न थाल्यौं,' सुबोधले भने, 'केही समयअघि आर्ट काउन्सिलमा भएको प्रदर्शनीमा हामीले दुई सिसाबीच लोक्ता कागज प्रयोग गरेर काम गरेका थियौं। त्यहीँबाट सिसाको आइडिया आएको हो।'
यो प्रदर्शनीमा सिसा, कागज र प्लास्टरको काम ग्यालरीको माथिल्लो तलामा देख्न सकिन्छ। त्यहाँ झ्याल मात्र नभई ढोका, बार्दली र सिंगो घरका आकृति पनि छन्। मन्दिर, चैत्य, हिति, शिलापत्र, घन्टी, मानिस, जनावरदेखि समुदायमा भेटिने अन्य सामग्री पनि रचना गरिएका छन्।
ग्यालरीको भुइँ तलामा भने लेजर–कटिङ गरिएका र थ्रिडी शैलीका झ्याल छन्। थ्रिडी झ्याल एकमाथि अर्को खप्टिएका छन्। यो 'ब्लक' खेलबाट प्रेरित भएर बनाएको उनीहरूको भनाइ छ।
उनीहरूले थ्रिडी शैलीका झ्याल यही प्रदर्शनीका लागि बनाएका हुन्। अरू शैलीका काम भने अन्य प्रदर्शनीमा पनि थिए।
भित्तामा भएका यस्ता झ्यालले झुरूप्प बस्तीको झलक दिन्छ। कतिपयले कीर्तिपुरको झल्को आयो भनेर वर्णन गरेको समृद्धिरत्नले बताए।
'कतिपय मानिसले यहाँका झ्याल हेर्दै कुनै आफ्नो घरको जस्तो, कुनै छिमेकीको जस्तो भन्छन्। कोही भने प्रदर्शनीमा आँखीझ्यालहरू धेरै राखेको भए हुन्थ्यो भन्छन्,' उनले भने, 'कतिपयले परम्परागत झ्याल हराएर गएकोमा चिन्ता व्यक्त गर्छन्।'


दुई तलाका यी कलाकृति झट्ट हेर्दा दुई फरक प्रदर्शनी जस्तो लाग्न सक्छ। तर संस्कृति, सम्पदा र समुदायबाट अलग नभएकाले तिनले हामीलाई जोड्छ।
यो प्रदर्शनीले सहरको अर्को पक्ष पनि उजागर गरेको छ। हिजोआज सहरमा जतासुकै अव्यवस्थित तार देखिन्छन्। ती तार सहरका हिस्साजस्तै भइसके। यसैको झलक दिन उनीहरूले आफ्नो कलामा झ्याल र घर वरपर तारहरू छरेका छन्। यसले पनि सहरी परिवर्तनको कथा भनिरहेको समृद्धिरत्न बताउँछन्।
समृद्धि र सुबोधले यसपालिसहित अहिलेसम्म सातवटा प्रदर्शनी गरिसकेका छन् – पाटनको एमक्युब ग्यालरीमा दुईपटक र आर्ट काउन्सिल, बौद्धस्थित तारागाउँ म्युजियम, नक्सालको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र भारतको नयाँदिल्लीमा एक–एकपटक।
यही प्रदर्शनी क्रममा गत बिहीबार ग्यालरीमा छलफल भएको थियो। सहभागीहरूले उनीहरूको कला 'विशिष्ट' भएको बताएका थिए। नियमित दर्शक मात्र होइन, अरूलाई पनि प्रदर्शनीले आकर्षण गरेको चर्चा भएको थियो। कतिपयले झ्यालभित्रको संसारबारे पनि प्रदर्शनी गर्न सुझाव दिएका थिए।
उनीहरू आफै पनि यसको निम्ति अभ्यास गर्दै छन्। कहिले झ्यालभित्र फोटोहरू राख्छन् त कहिले लाइट–प्रोजेक्सनमार्फत् झ्यालभित्र बत्ती बलेजस्तो देखाउने प्रयास गर्छन्।
'हामीले झ्यालमा काम थालेदेखि नै यसबारे सोचेका हौं। केही नयाँ अभ्यास पनि गर्यौं। तर त्यति काम गरेजस्तो लागेन। अहिले जति छ, त्यसले पनि कथाहरू भनिरहेजस्तो लाग्छ। हामीले पुर्याउन खोजेको सन्देश पुगिरहेजस्तो लाग्छ,' समृद्धिरत्नले भने, 'कोही प्रदर्शनीमा आएर आफ्नो काठमाडौं सम्झनासँग नजिक पुग्नुहुन्छ भने कोही भइरहेको सम्पदा र संस्कृति जोगाउनुपर्छ भनेर सोच्नुहुन्छ। उहाँहरूको यस्तो सोचाइले नै हाम्रो प्रदर्शनीलाई सार्थक बनाएको छ।'
यसैमा सुबोधले थपे, 'अग्रज कलाकारहरूले पनि कला क्षेत्रमा आफूले गर्दै आएको कामलाई अर्को चरणमा लैजानुभयो भनेर प्रशंसा गर्नुभएको छ। नयाँ कलाकारहरूले यो कामबाट आफूहरू प्रेरित भएको र सहकार्य गरौं भनिरहेका छन्। त्यसले हामीलाई उत्सुक बनाएको छ, ऊर्जा थपेको छ। त्यस हिसाबले पनि हाम्रो प्रदर्शनी सार्थक भएजस्तो लाग्छ।'
***












