भारत मणिपुरको थिएटर समूह ‘अखोखा’ का निर्देशक भिक्टर थौडम आफ्नो समाजको कथा शरीरको भाषामार्फत भन्न रुचाउँछन्। उनीद्वारा निर्देशित नाटक ‘ब्ल्याक एन्ड ह्वाइट’ काठमाडौंमा चलिरहेको अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९ मा प्रदर्शन भयो। मणिपुरको एउटा शान्त गाउँ कसरी विविध अदृश्य शक्तिका कारण बिथोलियो भन्ने कुरा नाटकले प्रस्तुत गरेको थियो। उक्त नाटक प्रदर्शनपछि सुरज सुवेदीले लिएको अन्तर्वार्तामा उनले सामाजिक सन्तुलन, शक्तिको उत्पत्ति तथा यसको सम्मोहनमा गुमेको विवेक र त्यसलाई ठीक ठाउँमा ल्याउन सचेत नागरिकको भूमिका, जस्ता विषयमा कुराकानी गरेका छन्।
तपाईंले नाटकमा अदृश्य शक्तिहरूले समाजमा विखण्डन ल्याएको देखाउनुभएको छ। यस्तो किन?
सामाजिक विखण्डन ल्याउने शक्ति धेरै हुन सक्छन्। मैले यो मात्र हो भन्न सक्दिनँ। नाटकको दृश्यमा विवेचना गर्ने ठाँउपनि छोड्न थाहन्थेँ। त्यसो हुँदा तपाईंले आफ्नो तरिकाले तरिकाले बुझ्न सक्नुहुन्छ। हामी बुझाउनै पर्ने र बुझ्नुपर्ने बाध्यतामा पर्दैनौं। त्यो शक्ति धेरै थोक हुनसक्छ। एउटा मात्र भन्न खोजेर विषयलाई सानो किन बनाऊँ। त्यसलाई खुला छोड्न चाहेको त्यसैले हो ताकि मानिसहरू आफूले बुझेको शक्ति अनुसार नाटकमा छिर्दै जाऊन्। किनकि दुई समूहलाई लडाएर शक्तिमा पुग्ने काम हरेकतिर भइरहेकै छ।
तपाईंको लागि सामाजिक सन्तुलन के हो?
संसार गतिशील भएकाले हामी सँधै सन्तुलनमा रहन सक्दैनौं। जीवन पनि यस्तै हुन्छ। सन्तुलनमा हुँदा असन्तुलनले पर्खिरहेको हुन्छ। अनि जब असन्तुलन हुन्छ त्यसलाई सन्तुलनतर्फ लैजाने प्रयास हामीले गर्नुपर्छ। मेरो लागि त्यही प्रयास थियो यो नाटक। नाटक सुरु हुँदा मानिसहरू मिलेर बसेका थिए। धार्मिक परम्परामा रमाइरहेका थिए। बीचमा उनीहरूको एकआपसमा तनाव हुन्छ। एक अर्कामा बाँडिन्छन्। उनीहरू बीचबाटै कोही शक्तिमा पुग्छ र तानाशाह हुन्छ। उनीहरू विद्रोह गर्छन् र फेरि पहिलाकै अवस्थामा समाज जान्छ। कुनै पनि देखिएको सामाजिक असन्तुलन सन्तुलनतर्फ जान नै हुन्छ जस्तो मलाई लाग्छ। यो निरन्तर प्रक्रिया हो। हामीले जहिल्यै सन्तुलन होस् भन्छौं तर त्यो सन्तुलन सायद कहिल्यै आउँदैन। सन्तुलन र असन्तुलनको यही प्रक्रियामा समय गुज्रिन्छ।
केही समय पहिले छलफल हुँदा नाटकको प्रक्रियामा लामो काम गरेको सुनाउनुभयो। त्यसको अनुभव अझै सुनाइदिनु न।
यसको पहिलो प्रस्तुति पनि हामीले लामो समय काम गर्न सकेनौं। कलाकार, ठाउँ तथा पैसा अभाव भयो। असन्तुलन आयो भनौं। हामीले लामो समयसम्म काम गर्न सकेनौं। पुन: सुरु गर्न ३ महिना लाग्यो। दिनमा कम्तीमा २ घण्टा काम गर्ने भनेर भेट्थ्यौं। शारीरिक अभ्यास तथा विषयको गहिराइमा पुग्ने प्रयास गर्यौं। नाटकमा के गर्न खोजेको भन्ने छलफल हुँदा हाम्रो समाजका बारे कुरा गर्यौं। त्यसरी नियमित काम गरिरहँदा नाटक बन्दै गरेको महशुस गर्यौं। कुनै महोत्सवमा जाउँला भन्ने हतार थिएन।
यो कथा शरीरको भाषाबाट नै भन्नु किन जरुरी थियो?
म जुन संस्कृतिबाट त्यसमा शरीरको प्रयोग धेरै छ। नृत्य, मार्सल आर्ट्स जस्ता स्वरूपहरू धेरै प्रयोग हुन्छन्। म त्यसैमा हुर्किएको भएर मेरो दिमाग वा चेतनामा त्यो कुरा आफैं आएको हुनुपर्छ। मेरो शरीर त्यसैले पनि यस्ता कुरामा तानिन्छ। कथा भनिएको त्यसरी नै देखेको छु। मनौबैज्ञानिक रूपमा त्यसरी आएको हुनसक्छ। फेरि मैले मेरो ठाउँको कथा भन्ने हो। त्यो नमिलेको पहाडमा हिँडेका पाइला। ती खेती गर्ने ठाउँमा बगेका पसिना। तालहरूमा डुङ्गा खियाउने हात। त्यस्ता कामको लागि शरीर चलेको देखेको छु। मैले बनाउने वा सोच्ने कुरा वा बनाउने चित्रमा ती आफैं मिसिन्छन्। तर यति हुँदाहुँदै पनि यो केवल मणिपुरका मानिसको मात्र कथा हैन।
सामाजिक रुपमान्तरणको लागि रंगमञ्च भन्ने थिममा यो महोत्सवमा सहभागी भइरहँदा तपाईंको जस्तो नाटकले सामाजिक रूपान्तरणमा कसरी मद्दत गर्छ जस्तो लाग्छ?
मलाई थाहा छैन थिएटर वा कलाले समाज रूपान्तरण गर्छ कि गर्दैन। तर यसले एक संवाद गर्ने वातावरण भने बनाउँछ। जसरी हामी कुरा गर्छौं, एक अर्काका बारे बुझ्छौं। यो संवादको माध्यम हुन सक्छ। विविध सामाजिक पक्षहरूको एक हिस्सा हुन सक्छ। यसले सामूहिकतामा विश्वास बढाउँछ। यहाँ गरिएका कुनै कुरा एक्लै सम्भव थिएनन्। यसमा अभिनय गर्नेले त्यो कुरा बुझेको छ। र यही कुरा गर्दै जाँदा त्यो सानो सिकाइले नयाँ पुस्तालाई नै सामूहिकता सिकाउन सक्छ। म यस्तै साना कुरामा विश्वास गर्छु। किनकि कसैले त्यही पाउने हो जो उसले कसैलाई दिन्छ। मलाई सामाजिक रूपान्तरण भन्दा पनि एउटा व्यक्तिको रूपान्तरण धेरै जरुरी छ जस्तो लाग्छ।
यो नाटक बनाइरहँदा वा प्रस्तुत गरिरहँदा कुनै कलाकारले आफ्नो सोचाइ परिवर्तन भएको सुनाएका छन्? वा तपाईं आफैंलाई त्यो महशुस भएको छ?
उनीहरूका बारेमा थाहा छैन। तर मलाई भने यो प्रस्तुतिले कुनै चिज वा समस्यालाई हेर्ने नयाँ दृष्टिकोण दिएको छ। यो परिवर्तन हो कि हैन भन्ने पनि म निश्चित छैन। तर समस्या समाधान गर्ने विभिन्न ढोका खुलेको महशुस गरेको छु। म जुनबाट छिर्न पनि सक्छु र त्यो समस्याको समाधान खोज्न सक्छु। यो नाटकबाट आफू र सत्य बुझ्न पनि सक्ने भएको छु।
नाटकमा समाजका समूहबीचको फुटले नयाँ व्यक्ति शक्तिमा आउँछ र अरूलाई दबाउन थाल्छ। ऊ आफ्नो लौरो नचाउँछ र त्योबाहेक अरू केही देख्नदैन। त्यही समाजबाट उदाएको कुनै व्यक्ति नेतृत्वमा पुगेपछि किन विवेक गुमाउँछ जस्तो लाग्छ?
तपाईंले भनिरहेको दृश्यलाई पनि फरक फरक तरिकाले बुझ्न सकिन्छ। यो खेल्ने कलाकार वा हेर्ने दर्शकमा पनि भर पर्छ। तपाईंको देशको अवस्था अनुहार तपाईंले उसलाई त्यसरी देख्नुभयो होला। कलाकारले उसको समाजको अनुसार दृश्यमा काम गर्यो होला। मैले उनीहरूलाई समाजका दुई पक्षबीच भएको द्वन्द्व देखाउन काम गर्नू भनेको हुँ। एउटा आक्रमक र अर्को शान्त देखिनुपर्छ भन्ने थियो। र त्यो सिनमा जो आक्रामक छ उसलाई मात्र हेर्न भएन। त्यसको विपक्षमा उभिनेहरू सुरुमा शान्त देखिएका छन् तर ती कमजोर हैनन्। जुन नाटकको अन्त्यसम्म पुग्दा थाहा हुन्छ।
कुनै मान्छेलाई एउटा गुणको कारणले हेरिनु हुँदैन। ऊ फरक फरक पक्ष मिलेर बनेको हुन्छ। र हामीले ती दुबैलाई देख्ने प्रयास गर्नुपर्छ। यो शासक वा जनता दुवैमा लागू हुन्छ।
उसले मानिसहरूलाई आशाको बेलुका फुकेर बाँडेको छ नि। पछि ऊ त्यसलाई पनि लौरोले फुटाउँछ।
त्यो उसको लागि सम्पत्ति हो। शक्ति हो। ऊ जबसम्म राम्रो रहन्छ तबसम्म त्यो फुट्दैन। तर जब उसले अति गर्छ त्यो फुट्छ। शासकको जनतासँगको सम्बन्ध पनि त्यस्तै हो। शक्तिमा भएको बेला तपाईं कसैलाई जिस्क्याउन थाल्नुहुन्छ। ती संस्था वा व्यक्ति जो पनि हुन सक्छन्। तपाईंलाई थाहा हुँदैन कि त्यो जिस्क्याइ कत्तिको घातक हुनसक्छ। शक्तिमा भएको बेला त्यसको दम्भ र सम्मोहनलाई हरेक व्यक्ति जोगिनुपर्छ। त्यो दम्भ मायावी हुन्छ।
तर म फेरि पनि भन्नु त्यो बेलुनप्रतिको मानिसको बुझाई फरक हुनसक्छ।
यो नाटक बनाउँदा यी सबै कुरा देखाउन के के कुरामा सचेत हुनुहुन्थ्यो?
नाटकमा धेरै खाली ठाउँ छोडिएको छ। सेट एकदमै कम छ। लाइट तथा साउण्ड पनि कुनै तल र कुनै माथि छन्। समाजमा भएको खाली ठाँउले नै नयाँ मानिस जन्माउने हो। त्यसरी जन्मिने क्रम सुखद वा दुखद दुवै हुनसक्छ। शक्तिमा कोही पुग्नु सँधै प्रिय हुन्छ भन्ने हुँदैन।
त्यो हुनुपर्ने हो त? कस्तो हुनुपर्ने हो?
जब ऊ शक्तिमा पुग्छ, मात्तिन्छ। ऊ विवेक शून्य बन्छ। बुद्धि पुर्याउन भने शक्तिको सम्मोहनमा ऊ हराउँछ। ठीक हो वा बेठीक नजान्न सक्छ। त्यस बेला हामी मानिसहरूले बोल्नुपर्छ। हामीले दमन गर्नेलाई पनि देख्यौं। दमीतहरू दमन गर्ने ठाउँमा पुगेको पनि देख्यौं। अब यस्तै भयो भनेर बस्ने हैन कि हुनेलाई गलत भयौ भन्नुपर्छ। मलाई जुनसुकै अस्थिरता पनि सकिन्छ भन्ने आशा लाग्छ। र यो एक व्यक्तिले सुरु गर्नुपर्छ अनि मात्र बाँकी आउँछन्। सबै एकैचोटि शासित हुने हो। त्यसविरुद्ध बोल्ने आवाज पहिले एक्लो नै हुन्छ। शासकमा मैले जे गर्दा पनि हुन्छ भन्ने भाव रहन दिनुहुँदैन।
नाटकको अन्त्यमा दबिएका पात्रबीचमा एक व्यक्तिले विरोध गर्दा जुन तरंग देखिन्छ त्यो विशेष हो। त्यसरी सहनेहरू एकीकृत नभएकाले मात्र कमजोर देखिएका हुन्। उनीहरू बोले भने जस्तो सुकै शक्तिको पनि केही लाग्दैन भन्ने मैले नाटकमा देखाउन खोजेको हुँ। किनकि हामी बोल्नुपर्छ। पोलिटिकल हाइबरनेसनबाट ब्युँझिनुपर्छ।