बलिउड इतिहासमै सर्वाधिक लोकप्रिय मानिने कालजयी फिल्म 'शोले' फेरि सिनेमा हलमा प्रदर्शनमा आउँदैछ।
सन् १९७५ को कालजयी यो फिल्म ५० वर्ष पूरा भएको अवसरमा पुनः सिनेमा हलमा रिलिज गर्न लागिएको हो। 'शोले: द फाइनल कट' नाम दिइएको यो संस्करण सन् २०२५ डिसेम्बर १२ (मंसिर २६) मा प्रदर्शनमा आउनेछ।
निर्माण पक्षले शुक्रबार मात्रै यसको नयाँ ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरको विवरण अनुसार फिल्मको 'ओरिजिनल अनकट' भर्सन पहिलो पटक सिनेमा हलमा प्रदर्शन गर्न लागिएको हो।
दर्शकलाई उत्कृष्ट दृश्य र ध्वनिको अनुभव दिनका लागि फिल्मलाई 'फोर-के' रिजोलुसन र 'डल्बी ५.१' साउन्ड सिस्टममा पुनर्स्थापित गरिएको छ।
'शोले' मा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय छ। फिल्मका हरेक पात्रहरू अहिलेसम्म पनि दर्शकको मनमा बसेका छन्।
५० वर्षको उत्सव मनाउँदै यो सदाबहार फिल्मलाई पुराना र नयाँ दुवै पुस्ताका दर्शकका लागि हलमा ल्याउन पाउँदा निर्माताहरूले खुसी व्यक्त गरेका छन्। 'शोले' ले नयाँ प्रविधिसहितको 'फाइनल कट' मार्फत फेरि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

के छ नयाँ संस्करणमा?
यस संस्करणको मुख्य आकर्षण यसको पुर्नस्थापित अन्त्य हो। जसमा ठाकुर ( सञ्जीव कुमार)ले गब्बर सिंह ( अमजद खान) लाई मार्छन्।
सन् १९७५ मा संकटकालको समयमा सेन्सर बोर्डको नियम कडा भएका कारण कानुन हातमा लिन नहुने भन्दै अन्त्यमा प्रहरी आएर गब्बरलाई पक्राउ गरेको देखाइएको थियो।
निर्देशक रमेश सिप्पीले तत्कालीन समयमा बाध्यतावश अन्त्य बदल्नु परेको बताएका छन्।
यस्तो छ नयाँ ट्रेलर:-