दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको आगामी फिल्म 'जन नायकन' लाई लिएर अहिले ठूलो चर्चा चलिरहेको छ। उनी अब सक्रिय राजनीतिमा लाग्ने र यो उनको अन्तिम फिल्म भएको बताइएको छ।
एच. विनोथ निर्देशित 'जन नायकन' राजनीतिक एक्सन फिल्म हो। जनवरी ९, २०२६ मा यसको प्रदर्शन तालिका तय छ।
पिंकभिल्लाका अनुसार यतिबेला फिल्मको क्लाइमेक्सलाई लिएर एउटा रोचक खबर बाहिरिएको छ, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को महत्वपूर्ण भूमिका रहने बताइएको छ।
'जन नायकन' को क्लाइमेक्समा थलपति विजयले धेरै ह्युमनोइड (मानव रोबोट) हरूसँग भिडन्त गर्ने इन्टरनेटमा चर्चा चलिरहेको छ। क्याइमेक्समा मानव र एआईबीचको द्वन्द्वको विषयवस्तुलाई उजागर गरिने अनुमान गरिएको छ।
स्रोतका अनुसार, यो एक्सन सिक्वेन्स उत्कृष्ट र दृश्यात्मक रूपमा सानदार हुने अनुमान गरिएको छ। यद्यपि, यो हाल केवल अनुमान मात्र हो, किनकि फिल्मका निर्माताहरूले यस विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्।
'जन नायकन' मा थलापति विजयले प्रहरीको भूमिका निर्वाह गरेको बुझिएको छ। वेंकट के नारायण निर्मित फिल्ममा पूजा हेगडे र बबी देओल लगायतको पनि अभिनय छ।
थलापति विजयलाई पछिल्लो पटक एक्सन ड्रामा 'द ग्रेटेस्ट अफ अल टाइम (गोट)' मा मुख्य भूमिकामा देखिएको थियो।