एनिमेटेड फिल्म 'महावतार नरसिंहा' ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। फिल्मले भारतमा हिन्दी संस्करणबाट मात्र १०४ करोड १४ लाख भारू नेट कमाइसकेको छ।
जसमा तेस्रो शनिबार एकैदिन १५ करोड भारू कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
फिल्मले शनिबारसम्म १६ दिनमा भारतमा हिन्दी संस्करणबाट १०० करोडको आँकडा पार गरेको हो। फिल्मको विश्वव्यापी कमाइ भने १७५ करोड ग्रस पुगिसकेको छ।
एनिमेटेड पौराणिक फिल्म भएकोले, यसले पारिवारिक दर्शकहरूलाई आकर्षित गरिरहेको छ। 'महावतार नरसिंहा' जुलाइ २५ देखि प्रदर्शनमा आएको थियो।
होम्बाले फिल्म्स र क्लीम प्रोडक्सनले बनाएको फिल्म अश्विन कुमारले निर्देशन गरेका हुन्। निर्मातामा शील्पा धवन, कुशल देसाई, चैतन्य देसाईलगायत छन्। फिल्मको लागत बजेट मात्र १५ करोड भारू रहेको बताइएको छ।