भारतीय निर्माता तथा अभिनेता फरहान अख्तरको आगामी फिल्म '१२० बहादुर' को टिजर सार्वजनिक गरिएको छ।
सैन्य एक्सन यो फिल्मको टिजर मंगलबार युट्युबमा रिलिज गरिएको हो।
यो फिल्म सन् १९६२ को भारत–चीन युद्धको ऐतिहासिक 'रेजाङ ला' को लडाइँमा आधारित रहेको बताइएको छ।
सार्वजनिक टिजरमा फरहानले मेजर शैतान सिंह भाटीको भूमिकामा अभिनय गरेका छन्, जसले भारतीय सेनाको नेतृत्व गर्छन्। १ सय २० जना भारतीय सैनिकहरूको बहादुरी र बलिदानको कथालाई फिल्मले प्रस्तुत गर्ने टिजरबाट बुझन् सकिन्छ।
रजनीश 'राजी' घईद्वारा निर्देशित यस फिल्मलाई रितेश सिधवानी, फरहान अख्तर (एक्सेल इन्टरटेनमेन्ट), र अमित चन्द्रा (ट्रिगर ह्याप्पी स्टुडियो) ले संयुक्त रूपमा निर्माण गरेका हुन्।
फरहान अख्तर '१२० बहादुर' बाट चार वर्षपछि ठूलो पर्दामा पुनरागमन गरेका हुन्। पछिल्लो पटक राकेश ओमप्रकाश मेहराको फिल्म 'तुफान' मा उनी देखिएका थिए। '१२० बहादुर' नोभेम्बर २१, २०२५ मा सिनेमा हलमा रिलिज हुनेछ।