बलिउड एक्सन फिल्म 'वार २' १४ अगस्ट (साउन २९) देखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ। यशराज फिल्मको स्पाइ युनिभर्स 'वार २' को ट्रेलर रिलिजसँगै यसको चर्चा अझ चुलिएको छ।
सन् २०१९ को सुपरहिट 'वार' को यो सिक्वेलबारे यसकारण पनि थप चर्चा भइरहेको छ, यसमा पर्दामा जुनियर एनटीआर र ऋतिक रोशन भिड्दैछन्।
फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसमा कलाकारहरूले लिएको पारिश्रमिकबारे पनि विभिन्न दाबीहरू भइरहेका छन्।
भारतीय संचारमाध्यमका अनुसार यो फिल्मबाट ऋतिक रोशन, जुनियर एनटीआरदेखि अनिल कपूर र कियारा आडवाणीसम्मले मोटो पारिश्रमिक लिएका छन्।
नवभारत टाइम्सले उल्लेख गरेअनुसार ऋतिकले 'वार २' को लागि यशराज फिल्म्ससँग ठूलो सम्झौता गरेका छन्। उनले फिल्म गर्नका लागि ५० करोड भारू पारिश्रमिक लिएको बताइएको छ।
त्यस्तै, रिलिजपछिको नाफा बाँडफाँडको सर्त पनि उनले राखेका छन्। यसको अर्थ यो फिल्मबाट निर्माताले जे कमाउँछन्, त्यसको केही हिस्सा ऋतिक रोशनले पनि पाउनेछन्। बजार विज्ञहरूले यो अवस्थाका कारण ऋतिक रोशनले 'वार २' बाट कुल एक सय करोडभन्दा बढी कमाउन सक्ने अनुमान समेत गरिरहेका छन्।
ऋतिक रोशनको यो फिल्मसँगै तेलुगु सुपरस्टार जुनियर एनटीआर पनि 'स्पाई युनिभर्स' मा प्रवेश गर्दैछन्। उनी यस फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन्।
'आरआरआर' अभिनेता जुनियर एनटीआरको प्रभाव पनि कम छैन। यस फिल्मसँगको उनको सम्बन्धका कारण दक्षिण भारतीय फ्यान र दर्शकहरूको ठूलो हिस्सा ‘वार २’ सँग जोडिने अनुमान गरिएको छ। 'इन्डिया टुडे' को एक रिपोर्टमा जुनियर एनटीआरले 'वार २' का लागि ७० देखि ७५ करोड भारू पारिश्रमिक लिएको उल्लेख छ।
फिल्मकी मुख्य अभिनेत्री कियारा आडवाणीले पनि यो फिल्मबाट मोटो रकम लिएकी छिन्। आमा बनेपछि उनी पहिलो पटक पर्दामा देखिँदैछिन्। उनले यो फिल्मको लागि १५ करोड भारू पारिश्रमिक लिएको बताइन्छ।
अयान मुखर्जी निर्देशित 'वार २' मा अनिल कपूर र आशुतोष राणा पनि छन्। निर्देशकले यशराज फिल्म्सबाट ३० देखि ३२ करोड भारू पारिश्रमिक लिएको बताइएको छ। अनिल कपूरले १० करोड भारू पारिश्रमिक लिएको बताइन्छ।
'वार २' यशराज फिल्म्सको स्पाइ युनिभर्सको छैटौं फिल्म हो। यो फ्रेन्चाइजी २०१२ मा सलमान खानको 'एक था टाइगर' बाट सुरू भएको थियो। 'वार २' को बजेट ४ सय करोड भारू रहेको बताइएको छ।