बलिउड अभिनेत्री करिश्मा कपूर सन् १९९० को दशककी रूचाइएकी अभिनेत्रीमध्ये एक हुन्।
कपूर खानदानमा जन्म लिएकी उनी पहिलो अभिनेत्री हुन्। उनका बुबा रणधीर कपूरले अभिनेत्री बबीतासँग विवाह गरेका थिए। त्यस्तै काका ऋषि कपूरले अभिनेत्री नीतू सिंहसँग विवाह गरेका थिए। तर उनीहरूको खानदानमा जन्मिएका महिला फिल्मबाट टाढिएका थिए। करिश्माले यस कडीलाई तोड्दै फिल्म क्षेत्रमा कदम राखेकी थिइन्।
उनले सन् १९९१ मा फिल्म 'प्रेम कैदी' बाट बलिउडमा डेब्यू गरेकी थिइन्। त्यतिबेला उनी १७ वर्षकी थिइन्। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
उनी आफ्नो हजुरबुबा राज कपूरको फिल्म 'हिना' बाट बलिउडमा डेब्यू गर्न चाहन्थिन्। यस फिल्ममा ऋषि कपूरले मुख्य भूमिका निर्वाह गरेका थिए। उनका परिवारका अनुसार भतिजी र काकाले रोमान्स गरेको खबर फैलिन सक्छ। जुन दुवैलाई राम्रो होइन। त्यसैले उनीहरूलाई एकसाथ फिल्ममा काम गर्न दिइएन।