भारतीय अभिनेता शक्ति कपूरकी श्रीमती शिवांगी कोल्हापुरेले 'किस्मत' बाट आफ्नो अभिनय यात्रा सुरू गरेकी थिइन्।
यस फिल्ममा मिथुन चक्रवर्ती, रंजीता र शक्ति कपूरको पनि अभिनय थियो। शक्ति र शिवांगीको भेट यसै फिल्मको सेटमा भएको थियो। दुई राम्रो साथी भए। त्यसपछि उनीहरू प्रेम सम्बन्धमा बसे। केही समयपछि उनीहरूले विवाह गर्ने निर्णय लिए।
शिवांगीका आमाबुबाले यस विवाहलाई अनुमति दिएनन्। शक्तिसँग विवाह गर्ने कुरा सुनेर उनका आमाबुबाले शिवांगीलाई कोठामा बन्द गरिदिएका थिए।
शिवांगीले शक्तिसँग भागेर सन् १९८२ मा विवाह गरेकी थिइन्। त्यतिबेला शिवांगी १८ वर्षकी थिइन्। विवाहपछि शिवांगीले फिल्ममा काम गर्न छाडिन्।
उनले १९ वर्षको उमेरमा छोरा सिद्धान्तलाई जन्म दिइन्। यसपछि उनी पारिवारिक जीवनमा व्यस्त भइन्।
हालै अभिनेता शक्तिले आफ्नो व्यक्तिगत जीवनलाई लिएर खुलेर कुराकानी गरेका छन्।
'शिवांगी मभन्दा १२ वर्ष कान्छी थिइन्। हाम्रो भेट भएपछि मलाई लाग्यो कि यति घरेलु र सुन्दर केटी कहाँ पाउँछु? एक दिन मैले आफ्नो काममा डिस्टर्ब भएको बताए। म आफ्नो काममा केन्द्रित हुन चाहन्छु भनें। तर उनी रिसाइन्। मैले उनीसँग माफी मागें। त्यसपछि उनलाई विवाह गर्न चाहन्छु भनें। साथै मैले उनलाई हाउसवाइफ बन्नुपर्छ भनें। त्यसपछि हामीले कोर्टमा विवाह गरौं,' उनले भने।
शक्तिले थप्दै भने, 'उनले मेरो लागि आफ्नो गायन र अभिनय करियर छाडिन्। आजसम्म म यसको लागि हात जोडेर उनीलाई धन्यवाद दिन्छु।'