शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म 'पीआर' मा समावेश गीत 'टाटा बाइ बाइ' सार्वजनिक गरिएको छ।
निर्माण पक्षले आइतबार सान्भी इन्टरटेनमेन्ट युट्युबबबाट रिलिज गरेको उक्त गीतमा फिल्मका कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला-बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। रामजी लामिछानेले भिडिओको कोरियोग्राफी गरेका हुन्।
यो गीतमा टेक बिसी र प्रीति घिमिरेको स्वर छ। गीतको शब्द र संगीत भिम बी.सी.को हो।
सलोन-सलिना फिल्म्सको ब्यानरमा बनेको ‘पीआर’ मा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की लगायत छन्।
प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा फिल्म आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको छ।
फिल्मको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्।
सौरभ सायमी र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको यो फिल्मको लेखन गणेश बुढाथोकीले गरेका छन्।
आगामी मंसिर २६ गते रिलिज हुन लागेको 'पीआर' लाई स्वदेशमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।