फिल्म 'परान' ले दर्शकहरूलाई आफूप्रति आकर्षित गर्न 'मेरो परान' नामक प्रतियोगिताको घोषणा गरेको छ। यो प्रतियोगिता अन्तर्गत एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
आउँदो साता अर्थात् कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित यो फिल्मले दर्शकहरूलाई फरक तरिकाले जोड्ने प्रयास गरेको छ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले आफ्नो जीवनमा ‘परान’ को हो भनी खुलाउँदै उनीहरूसँगको तस्बिर पोस्ट गर्नुपर्नेछ। तस्बिरको क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो भावना व्यक्त गर्न सकिनेछ। साथै, उक्त पोस्टलाई फिल्मको आधिकारिक फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ।
निर्माण पक्षका अनुसार, यस प्रतियोगितामा बुबा, आमा, श्रीमान्, श्रीमती, प्रेमी–प्रेमिका, साथीभाइ वा दाजुभाइ–दिदीबहिनीजस्ता कुनै पनि नजिकका सम्बन्धका व्यक्तिसँगको तस्बिर पोस्ट गर्न सकिनेछ। सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेताले गोलाप्रथा (लक्की ड्र) मार्फत एक लाख रूपैयाँ जित्नेछन् भने १०० जनाले फिल्मको विशेष शोको टिकट प्राप्त गर्नेछन्।
यसका अतिरिक्त, 'परान' को प्रचारका लागि केही स्वयंसेवकहरूले फिल्मको क्यूआर कोडसहित सहरका विभिन्न स्थानमा प्रचार गर्नेछन्। उक्त क्यूआर कोड स्क्यान गरी फिल्मको ट्रेलर वा गीत सेयर गर्ने ५० जना दर्शकले फिल्मका कलाकारहरूसँगै बसेर फिल्म हेर्ने विशेष अवसर पाउनेछन्। यी दुवै प्रतियोगितामा फिल्म रिलिज भएको एक सातापछि अर्थात् कार्तिक २० गतेसम्म सहभागी हुन सकिनेछ।
फिल्म परान गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र तीन दशक लामो इतिहास बोकेको प्रिज्मा एडभर्टाइजिङ एजेन्सीका प्रमुख रञ्जित आचार्यको लगानीमा निर्माण भएको हो। व्यापारिक क्षेत्रमा छुट्टै पहिचान बनाएका यी दुई व्यक्तिको आगमनले फिल्म सशक्त बनेको अपेक्षा दर्शकमाझ बढेको छ।
‘सक्किगोनी’ फेमका दीपकप्रसाद आचार्य (काकु) को यो पहिलो निर्देशकीय फिल्म हो। फिल्मले एक बुबा र छोराबीचको भावनात्मक कथालाई प्रस्तुत गरेको छ।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाहले शीर्ष भूमिकामा अभिनय गरेका छन्। साथमा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराईली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रूपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारीको अभिनय रहेको छ।
