वर्षकै प्रतीक्षितमध्येको फिल्म 'बलिदान' को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। संविधान दिवसको अवसर पारेर सार्वजनिक ट्रेलरको सुरूआतमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेको दृश्य देखिन्छ।
अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने अभिनेता समीर भट्ट छोराको भूमिकामा छन्।
ट्रेलरमा देशभक्तिपूर्ण संवादसहित समीरका भरपुर दमदार एक्सन दृश्यहरू समावेश छन्। ट्रेलरमा सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढाथोकी फरक अवतारमा देखिएका छन्। सौगात मल्ल र समीर भट्टबीचको द्वन्द्वको दृश्य समेत ट्रेलरमा देखिन्छ।
फिल्ममा छायांकन, संवाद र ब्याकराउन्ड स्कोर पनि राम्रो रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ।
'आसुसेन फिल्म्स प्रा.लि.' को ब्यानरमा बनेको बलिदानमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय छ। निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
बडादसैंको फूलपातीको दिन (असोज १३ गते)देखि फिल्म प्रदर्शनमा आउनेछ।