दसैं फूलपाती अर्थात असोज १३ गते नेपाली बक्स अफिसमा ठूलो भिडन्त हुने भएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'अभिमन्युः च्याप्टर १' अब फूलपातीका दिन रिलिज हुने भएपछि सो मितिमा प्रदर्शन हुने फिल्मको संख्या चार पुगेको छ।
जेनजी आन्दोलनका कारण प्रदर्शन स्थगित गरिएको 'अभिमन्युः च्याप्टर १' को निर्माण कम्पनी सेभेन सिज नेपालले विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। निर्माता विनोद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौँ। तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौं।'
पौडेलका अनुसार, नेपाली भाषामा असोज १३ गतेदेखि देशभर तथा विश्वव्यापी रूपमा एकैसाथ फिल्म प्रदर्शन हुनेछ भने हिन्दी भाषामा असोज १७ गतेदेखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ।
विनोद पौडेलले भदौ २७ गते नै रिलिज हुने भनेर प्रचारमा धेरै लगानी भइसकेकोले दर्शकलाई लामो समयसम्म पर्खाउन नसकिने बताएका छन्।
'हामी सोच विचार गरेर नै फूलपातीमा आउने निर्णय गरेका हौं। कसैसँग जुध्ने र जुधाउने हाम्रो उद्देश्य होइन। धेरै पछि जाने अवस्था पनि छैन,' पौडेलले भने, 'हामी भदौ २७ मा आउँदा सोलो रिलिजको मौका पाएका थियौं। तर, परिस्थितिले हामीलाई असोज १३ मा ल्याइपु¥याएको हो। हामी सरसल्लाह गरेर नै यो मितिमा आएका हौं।'
सुशान्त गौतम निर्देशित 'अभिमन्युः च्याप्टर १' मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरूङ, प्रकाश दाहाल र शिशिर वाङ्देललगायतका कलाकारहरू मुख्य भूमिकामा छन्।
फूलपातीमा चार फिल्मको प्रतिस्पर्धा
'अभिमन्युः च्याप्टर १' फूलपातीमा आउने भएसँगै उक्त मितिमा रिलिज हुने फिल्मको संख्या चार पुगेको छ। यसअघि नै 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' फूलपातीमा आउने तयारीमा साथ प्रचारप्रसारमा जुटेका थिए। जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिपछि पनि यी फिल्मका निर्माताहरूले आफ्नो फिल्म फूलपातीमा आउने घोषणा गरिसकेका छन्।
'माइतीघर' का निर्माता रोहित अधिकारीले यसैसाता फिल्मको ट्रेलर रिलिज हुने बताएका छन्। यता, 'बलिदान' का निर्देशक सन्तोष सेनले फिल्मको गीत सोमबार रिलिज हुन लागेको र ट्रेलर यसैसाता आउने जानकारी दिए।
'हरिबहादुरको जुत्ता' का निर्माता सरोज ओलीले पनि आफ्नो फिल्म फूलपातीमा आउने बताएका छन्।
घोषणा भए पनि यी सबै फिल्म फूलपातीमा आउलान्? एकै दिन चार फिल्म प्रदर्शनमा आउँदा दर्शकको रोजाइ र बक्स अफिसमा त्यसको असर कस्तो पर्नेछ यो भने प्रतीक्षाको विषय बनेको छ।