अभिनेत्री निरूता सिंह फिल्म अभिनयका लागि मुम्बईबाट नेपाल आइपुगेकी छन्।
उनी निर्देशक सविर श्रेष्ठको महत्वकांक्षी प्रोजेक्ट '३६ को आँकडा' मा अभिनयका लागि आइतबार राति काठमाडौं आइपुगेकी हुन्।
यो निरूताको ६ वर्षपछिको कमब्याक फिल्म हुनेछ।
विमानस्थलमा ओर्लिएसँगै उनले पत्रकारहरूसँगको कुराकानीमा उत्साह व्यक्त गर्दै भनिन्, 'अब म कहीँ पनि जादिनँ। निरन्तर नेपाली फिल्ममा काम गर्छु।'
कोरोना महामारीका कारण केही समय कामबाट टाढा रहनुपरेको बताउँदै उनले अब आफू नेपाली फिल्मबाट टाढा रहन नसक्ने बताइन्।
फिल्ममा निरूताको भूमिकाबारे अहिले खुलाइएको छैन।
निर्देशक सविर श्रेष्ठले निरुताको भूमिकाबारे तत्काल केही नखुलाए पनि उनको चरित्र विशेष रहेको बताए। 'कुनै–कुनै भूमिकामा विशेष कोही कलाकारकै आवश्यकता पर्दो रहेछ। यो फिल्ममा पनि निरूता दिदी नै चाहिने भूमिका छ। त्यसैले हामीले उहाँलाई आग्रह गर्यौं।'
सविरले सहायक निर्देशक हुँदा निरूतासँग काम गरेको अनुभव भए पनि निर्देशकका रूपमा उनले पहिलोपटक सहकार्य गर्दैछन्।
निरूता पछिल्लो पटक फिल्म ‘दाल भात तरकारी’ मा देखिएकी थिइन्।
दुई दशकपछि पर्दामा सँगै देखिँदै निरूता र रेखा
यो फिल्ममा निरूतासँगै अभिनेत्री रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का जस्ता कलाकारहरूको अभिनय रहनेछ। फिल्मले एक रोचक संयोग पनि जुराएको छ। फिल्ममा निरूता र रेखाले करिब दुई दशकपछि सहकार्य गर्दैछन्।
'दुई पल' मा सँगै देखिएका यी दुई अभिनेत्रीलाई एकै फ्रेममा हेर्न पाउनु दर्शकका लागि एक सुखद् अनुभव हुनेछ।
'३६ को आँकडा' को छायांकन सोमबारदेखि सुरू हुँदैछ।