विराज भट्टको मुख्य भूमिकामा निर्माण हुने फिल्म 'राम नाम सत्य’ को औपचारिक घोषणा गरिएको छ।
बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको सुभसाइतसँगै औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा अभिनेता विराज भट्टको 'एंग्री लुक्स' सहितको फर्स्टलुक पोस्टर सार्वजनिक गरियो। साथै फिल्मलाई नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणासमेत गरिएको छ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्ममा विराजका साथमा सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनील थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी, दिनेश डीसीलगायतको अभिनय रहनेछ।
निर्देशक माइकल चन्दले यसलाई आफ्नो 'सपनाको फिल्म' बताउँदै कार्यक्रममा भावुक बने।

अभिनेता विराज भट्टले '१२ गाउँ' पछि आफूले एउटा शक्तिशाली कथावस्तुमा काम गर्न लागेको बताए। त्यस्तै, अभिनेता सुशील श्रेष्ठले पनि फिल्मको कथा उत्कृष्ट रहेको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरे।
माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्मको निर्मातामा उपेन्द्र शाही र स्वेता विमली तथा कार्यकारी निर्मातामा किशोर भट्ट र डा. डी.आर. उपाध्याय छन्।
फिल्ममा सञ्जय लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ।
फिल्ममा निरज ठकुरी क्रिएटिभ निर्देशक, नविनजंग शाही कास्टिङ डिरेक्टर, अभिमन्यू निरवी र समय थापा स्क्रिप्ट कन्सल्टेन्ट, मोती कार्की क्रिएटिभ निर्माता, राजेन्द्र आचार्य लाइन प्रोड्युसर र राजेन्द्र मोक्तान कलर संयोजनको भूमिकामा छन्।
फिल्मको छायांकन केही दिनपछि काठमाडौंबाट सुरू हुनेछ भने केही अंश चितवनमा पनि खिचिने निर्माण पक्षले जनाएको छ।
यसअघि लामो समय म्युजिक भिडिओ निर्देशनमा बिताएका माइकल चन्द्रको डेब्यु निर्देशनमा 'राम नाम सत्य' बन्न लागेको हो।