दसैं फूलपातीको अवसरमा रिलिज हुने तयारीमा रहेको फिल्म 'बलिदान' का ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।
बुधबार सार्वजनिक पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकसामु पहिलो पटक प्रस्तुत गरिएको हो।
फिल्ममा सन्तोष स्वयंले समेत अभिनय गरेका छन् भन्ने कुरा पनि पोस्टरमार्फत जानकारी दिइएको छ।
निर्देशक सन्तोषका अनुसार फिल्मका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो।
पोस्टर सार्वजनिक गर्दै उनले भनेका छन्, 'यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्।'
यो फिल्मको यसअघि प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको क्यारेक्टर पोस्टर पनि आइसकेको छ।
अभिनेता समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि दर्शकमाझ चर्चा बटुलेको छ।
यस्तै, फिल्मको निर्माताले देशभर 'बलिदान ब्यानर' अभियान समेत चलाएका छन्। आसुसेन फिल्म्स् प्रा.लिको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन्। कार्यकारी निर्मातामा प्रेम पुरी छन्।