गत वर्षको हिट फिल्म 'खुस्मा' का निर्देशक अशोक थापामगरको निर्देशनमा नयाँ फिल्म 'जलाकी' निर्माण हुँदैछ।
'खुस्मा' कै जोडी धिरज मगर र उपासना सिंह ठकुरीको शीर्ष अभिनय रहने फिल्मको गत चैत्रमा केही दिन छायांकन समेत भइसकेको छ। यसको दोस्रो चरणको छायांकन असोज तेस्रो सातादेखि गर्ने तयारी चलिरहेको छ।
यसैबीच, निर्माणपक्षले सोमबार अभिनेता धिरज र अभिनेत्री उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर रिलिज गरेको छ। जसमा धिरज र उपासना रोमान्टिक देखिएका छन्।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा यी दुईसहित सोनम तोप्देन पनि शीर्ष भूमिकामा छन्। त्यस्तै यो फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। साथमा शिल्पा मस्के, माओत्से गुरूङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु)लगायत कलाकारहरू समेत फिल्ममा छन्।
'जलाकी' मगर समुदायको आस्थाको प्रतीकको रूपमा मानिने ढुङगा बनाइएको विशेष स्तम्भलाई बुझाउँछ। कसैको सम्झना र मायाको प्रतीकको रूपमा यो शब्दलाई लिइन्छ।
निर्देशक अशोक थापा मगरका अनुसार फिल्मको छायांकन तीन चरणमा गरिनेछ।
रूकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भू-भागसहित दक्षिण कोरियामा समेत फिल्मको छायांकन गरिने जनाइएको छ।
यो फिल्मले मगर र गुरूङ समुदायको सँस्कृतिलाई झल्काउने छ। फिल्मको निर्मातामा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण भइरहेको फिल्मको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।
फिल्मको सार्वजनिक पोस्टर भने ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।

