नेपाली फिल्म 'चित्रा' अब विश्वभरका दर्शकले प्राइम भिडिओ (अमेजन प्राइम भिडिओ) मार्फत हेर्न सक्ने भएका छन्।
वि.स. २०८० सालको पुसमा हलमा प्रदर्शनमा आएको घनश्याम लामिछाने निर्देशित यो फिल्म हाल प्राइम भिडिओमा स्ट्रिमिङ भएको हो।
अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो फिल्म हेर्न सक्ने जनाइएको छ। जस अन्तर्गत २ सय भन्दा बढी देशका दर्शकले यो फिल्म हेर्न पाउने भएको निर्माणपक्षले जनाएको छ।
फिल्मको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो। विशेष कुरा के छ भने यो फिल्म ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहुभाषी दर्शकको पहुँचमा पुर्याएको छ।
यसअघि केही नेपाली फिल्महरू अमेजन प्राइम युके वा युएसए संस्करणमा रिलिज भएका थिए। तर 'चित्रा' भने ग्लोबल प्लेटफर्ममा रिलिज भएको हो।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए।
उनले भने, 'चित्राको यो सफलता नेपाली फिल्म उद्योगका लागि उदाहरणीय बन्न सक्ने सम्भावना छ। विश्व बजारमा नेपाली कथालाई पुर्याउने र नेपालमा पनि यस्तो स्तरको सिनेमा बन्न सक्छ भन्ने सन्देश दिनुमा फिल्म सफल भएको देखिन्छ। हाम्रो कथा अब संसारका दर्शकले बुझ्ने भाषा र माध्यममा पुगेको छ। यो एउटा सुरूआत मात्र हो।'
फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरे लगायत कलाकारहरूको अभिनय रहेको छ।सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सहनिर्माण गरेका हुन्।
फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा छन्। फिल्मको एसोसिएट निर्माता राज श्रेष्ठ हुन्।
अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्मले एक रिटायर्ड बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्बन्धको कथा भन्छ।