सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म 'सिटामोल' को टिजर सार्वजनिक गरिएको छ।
आइतबार राष्ट्रिय धान दिवसको अवसर पारेर यो फिल्मको मर्मस्पर्शी टिजर युट्युबमा सार्वजनिक गरिएको हो।
'जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर' हरफबाट सुरू हुने मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले फिल्मको कथावस्तुबारे जानकारी दिएका छन्।
टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको विवाहपछिको उतार-चढावको मर्मस्पर्शी कथा देखाइएको छ।
फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीलगायत कलाकारहरूको अभिनय छ। श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता सिमोस सुनुवार हुन्। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहेको फिल्ममा गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।
फिल्मका गीतमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ। दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा बन्दे प्रसादको सम्पादन छ।
'सिटामोल' आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ।