एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म 'हर्ष' मंसिरमा प्रदर्शनमा आउने भएको छ।
सोमबार फिल्मको टाइटल भिडिओ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
टाइटल भिडिओमा फिल्म आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ।
निर्देशक एकता पौडेलले टाइटल भिडिओको सुरूआतमा नै यो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मीप्रति समर्पित रहेको उल्लेख गरेकी छन्। निर्देशक पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।
उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्महरू समेत निर्मण गरिसकेकी छन्।
सम्पूर्ण छायांकन चितवनमा नै गरिएको फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ।
आफू र आफ्नो टिमले 'हर्ष' दर्शकलाई उत्कृष्ट फिल्म दिने प्रयास रहेको पौडेल बताउँछिन्। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरूङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, संगीता नापित लगायतको अभिनय छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्।
पारिवारिक सामाजिक कथा पस्किने फिल्ममा आलोक शुक्लाको छायांकन, समीर/हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ।
निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल छन्।