कृषा चौलागाईंको निर्देशन रहेको फिल्म 'पिताम्बर' ले प्रदर्शनको ५१ औं दिन मनाएको छ।
गत चैत २९ देखि प्रदर्शनमा आएको फिल्मले बिहीबार ५१ दिन मनाएको हो। रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बीएसआर र बीग मुभिजमा फिल्मले ५१ दिन मनाएको निर्माणपक्षले जनाएको छ।
फिल्मले ५१ दिन मनाएको उपलक्ष्यमा निर्माण पक्षले सेलिब्रेसन गर्दै 'पिताम्बर २' को घोषणा समेत गरेको छ।
बिहीबार रञ्जना हलमा एक कार्यक्रमबीच कलाकार र प्राविधिकहरूलाई सम्मान गर्दै दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेको हो।
कार्यक्रममा निर्देशक कृषा चौलागाईंले सबैको साथ र सहयोगले फिल्मले ५१ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइन्।

यो सफलतामा उत्साहित रहेकी चौलागाईंले भनिन्, 'यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।'
केही दिनअघि जापानमा समेत बेष्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकीय फिल्म 'एैंचो पैंचो' हो।
'पिताम्बर' को कुरा गर्दा यो एक्सन जनरामा रहेर बनेको फिल्म हो। यसमा प्रदीप खड्का सौगात मल्ल, अनुपविक्रम शाही, दयाहाङ राई, आर्यन सिग्देल, सुरक्षा पन्त, गौरी मल्ल, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको निर्माता विशाल चौलागाईं हुन्।