शुक्रबारदेखि प्रदर्शन हुने फिल्म 'जन्ते बाख्रो' को प्रिमियर गरिएको छ।
बुधबार आयोजित प्रिमियरमा फिल्म हेरेपछि कलाकारले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन्। अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिइन्।
उनले भनिन्, 'म धेरैपछि हलभित्र निकै हाँसेकी छु। आशिफ दाइ (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो। उहाँ यसअगाडि फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ।'
अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि 'जन्ते बाख्रो' परम्परासँगै फिल्मले मनोरञ्जन दिने बताए। उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै फिल्ममा कैद भएका सुन्दर दृश्यको तारिफ गरे। 'तपाइलाई ट्रेलरले आकर्षित गरेको छ भने फिल्म हेर्न आउनुस्, इन्जोय गर्नुहुनेछ। ग्रामिण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको फिल्मले हामीले पूर्ण मनोरञ्जन दिन्छ,' संजोगले भने।
अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले फिल्म निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए। फिल्म हेरेर निस्किँदा पत्कथालाई पर्दामा रमाइलोसँग प्रस्तुत गरिएको भन्दै उनले तारिफ गरे।
'मलाई फिल्म बन्दा मैले सुनेको पटकथा कस्तो होला भन्ने लागेको थियो। रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु। फिल्म हेरिरहँदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ। यो फिल्ममार्फत एउटा राम्रो निर्माता सनतोष गौतमको आगमन भएको छ। उहाँले फिल्मलाई राम्रो बनाउन कहिँ कतै कन्जुस्याइँ गर्नुभएको छैन,' उनले भने।
गायक महेश काफ्लेले फिल्मले मानवमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए। 'यसको कथा सरर बगेको छ, हेरून्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ। लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ। मैले इन्जोय गरे,' गायक काफ्लेले भने।
सिमोस सुनुवारको निर्देशनमा बनेको 'जन्ते बाख्रो' मा सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मा शीर्ष भूमिकामा छन्।
ग्रामीण परिवेशमा रहेर निर्माण गरिएको फिल्मलाई हास्य, रोमान्स र ड्रामा जनरामा राखिएको छ। फिल्मको निर्माता सन्तोष गौतम हुन्।



