फिल्म 'द ब्लु लाइट' को मंगलबार शुभमुहूर्त गरिएको छ।
काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आयोजित शुभमुहूर्तमा फिल्मका मुख्य कलाकारसहित टिमको उपस्थिति रहेको थियो। फिल्मको छायांकन भने २२ गते बिहीबारदेखि सुरू गरिनेछ।
यो फिल्म बलिराम चौहानले निर्देशन गर्दैछन्। उनी अहिलेको प्रतीक्षित फिल्म 'बलिदान' का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। चौहानको यो डेब्यु निर्देशन हुनेछ।
'द ब्लु लाइट' को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीलगायत छन्। बाल कलाकारमा ग्रिष्मा कटुवाल र सहारा शर्माले अभिनय गर्दैछन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो। फिल्मको सह–निर्मातामा रमन ग्रे छन्।
निर्देशक चौहानले फिल्मको कथावस्तु गोप्य राखेका छन्। उनले भने, 'बिस्तारै हाम्रा प्रचार सामाग्रीमार्फत कथावस्तुबारे जानकारी दिँदै जानेछौं। हामी यो जानराकै एक उत्कृष्ट फिल्म बनाउने छौं।'
काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने फिल्मको छायांकन तालिका २० दिन तय गरिएको छ। फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्।
'द ब्लु लाइट' सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने जनाइएको छ।