विजय बराल अभिनीत फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू' को नाम परिवर्तन गरिएको छ।
यो नाममा अरू यथावत राख्दै 'बाहुन' हटाएर त्यसको ठाउँमा 'मान्छे' राखिएको हो।
अब फिल्मको नाम 'जनै हराएको मान्छेः सम्बन्धका धागाहरू' भएको छ।
हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माणपक्षले जनाएको छ।
निर्माणपक्षले नाम परिवर्तन गर्दै मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा विजय बराल रातो सर्टमा दुईवटा झोला बोकेर घरबाट निस्किन लागेकोजस्तो देखिन्छन्।
उनले निधारमा रातो टीका पनि लगएका छन्। उनको निन्याउरो अनुहारले घरपरिवार र आफन्तसँग छुट्नुपर्दाको पीडा देखाउँछ। फिल्मले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने पोस्टरले संकेत गरेको छ।
निर्माणपक्षले विजयलाई एउटा ट्याग दिँदै पोस्टर ल्याएको छ। विजयलाई निर्माणपक्षले ‘एपिक नेचुरल स्टार’ को ट्याग दिएको हो।
छायांकन सकिएको यो फिल्म अहिले पोस्टप्रोडक्सनमा छ।
फिल्म हिमाल न्यौपानेले निर्देशन गरेका हुन्। एसोसियट निर्देशकमा 'प्रेमगीत ३' अभिनेता मनिष राउत छन्।
फिल्ममा विजय बरालसँगै केकी अधिका, मिरूना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका छ। रेअर राई, भावना खपांगी मगर, रूपेश लामा, सुमन थापा लागायतको पनि फिल्ममा अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रूपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन्। भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको फिल्ममा नवीन गुरूङको डीओपी र कृष्ण परियारको सिनेम्याटोग्राफी छ।
ब्लकबस्टर फिल्म 'पूर्णबहादुरको सारंगी' पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो फिल्म हो। फिल्मको प्रदर्शन मिति भदौ ६ गतेलाई तोकिएको छ।
गोविन्द शाहीको काफिया फिल्मस्ले यसको वितरणको जिम्मा लिएको छ।