लेखक तथा अभिनेता खगेन्द्र लामिछानेका प्रसंशक धेरै छन्।
पछिल्लो समय लेखनभन्दा अभिनयमा सक्रिय उनी अभिनीत फिल्म ‘के घर के डेराः घर नं. २’ हलमा लागिरहेको छ। यही बिहीबारदेखि उनको नयाँ फिल्म 'महाभोज' प्रदर्शनमा आउँदैछ।
जस्तोसुकै पात्रमा पनि इमानदारीपूर्वक अभिनय गर्ने भएकाले पनि उनलाई दर्शकहरूले रूचाउँछन्।
उनी फिल्ममा अभिनय गर्नुअघि पात्रको तयारी कसरी गर्छन्, जसले उनको अभिनय मौलिक देखिन्छ।
यो धेरैलाई चासोको विषय हुनसक्छ।
यसबारे सेतोपाटीमा भिडिओ कुराकानीका क्रममा खगेन्द्रले कलाकारले फिल्ममा आफ्नो पात्र मात्र नभइ अन्य पात्रबारे पनि बुझन् जरूरी हुने बताए।
फिल्ममा सबै पात्र उत्तिकै महत्वपूर्ण हुने हुने अरू पात्रबारे बुझन् आवश्यक हुने उनको धारणा छ।
'कलाकारले फिल्म गर्दा आफ्नो पात्रमात्र बुझेर हुँदैन। त्यो पात्रसँग अरू पात्रको सम्बन्ध के छ भन्ने कुराले ठूलो भूमिका खेल्छ,' उनले भने।
खगेन्द्रले आफूले यही तरिका अपनाएर अभिनय गर्ने बताए।
पात्रको तयारीबारे उनले प्रष्टयाउँदै भने, 'एउटा कथा छ। त्यसमा विभिन्न पात्र छन्। विभिन्न पात्रमध्ये एउटा पात्रको भूमिका मैले गर्नुपर्ने हो। त्यो पात्र को हो? त्यहाँ कसरी आइपुग्यो? त्यसले कथाभित्रको यात्रा कसरी तय गर्छ? अन्य पात्रसँग उसको कस्तो सम्बन्ध छ? त्यो कुरा बुझेपछि सहज हुन्छ।'
कतिपयमा आफ्नो पात्र बुझे भयो भन्ने बुझाइ रहेको भन्दै उनले अगाडि भने, 'जब अर्को क्यारेक्टरसँगको सम्बन्ध थाहा पाइँदैन भने त्योसँग कस्तो व्यवहार गर्ने? त्यसमै अलमल भयो नी। त्यसैले बुझेर सरल तरिकाले रोल प्ले गर्ने हो।'
उनी पात्रलाई लिएर धेरै गम्भीर भने हुन नहुने धारणा राख्छन्।
'साधारण तरिकाले लिने हो तर कुरा क्लियरली बुझ्नुपर्छ], उनी भन्छन्।
फिल्मको विषय र गाम्भीयर्तालाई हेरेर कहिलेकाहीँ पात्रको तयारीको प्रक्रियामा केही परिवर्तन गर्नुपर्ने पनि हुनसक्ने उनी बताउँछन्।
खगेन्द्रका अनुसार उनी अभिनय गर्दा कहिल्यै पनि 'ग्लिसिरिन' प्रयोग गर्दैछन्। पात्रलाई बुझेर उसको मनोदशा महशुस गर्ने हो अभिनयमा सहज हुने उनी बताउँछन्।
खगेन्द्रको आगामी फिल्म 'महाभोज' को कुरा गर्दा यसलाई दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्ममा खगेन्द्रसँगै आर्यन सिग्देल, दयाहाङ राई, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ लगायत कलाकारहरूको अभिनय छ।
हेर्नुहोस् 'महाभोज' का कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महतबीचको भिडिओ कुराकानी—