निर्माण तयारीमा रहेको फिल्म 'मिरमिरे' मा अभिनेता दयाहाङ राईले अभिनय गर्ने भएका छन्।
यम शेर्पाको निर्देशनमा बन्न लागेको यो फिल्मको मुख्य भूमिकामा दयाहाङ अनुबन्धित भएका हुन्।
'कार्साङ' पछि यी दुईबीच 'मिरमिरे' मा पुनः सहकार्य हुन लागेको हो।
दयाहाङ अनुबन्धित भएसँगै निर्देशक शेर्पाले भने, 'यो हाम्रो दोस्रो सहकार्य हो। स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो। अर्को सोसल ड्रामा लिएर हामी छिट्टै आउने छौं।'
निर्देशकका अनुसार 'मिरमिरे' मा कलाकारहरूको लाइनअप बलियो हुनेछ। दयाहाङ फाइनल भए पनि अन्य कलाकारहरू को–को हुनेछन्, त्यसबारे खुलाइएको छैन।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा निर्देशनसंगै कथा पनि यम शेर्पा स्वयंको रहनेछ।
ग्रामीण परिवेशको सामाजिक कथा फिल्मले भन्नेछ। नयाँ वर्षको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको थियो। थिम पोस्टरमा एक महिला र एक पुरूष पात्र छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो।
'मिरमिरे' को निर्मातामा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन्। सह–निर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् भने कार्यकारी निर्मातामा रोहित कट्टेल छन्।
फिल्म २०८२ भित्रै रिलिज गरिने घोषणा भए पनि प्रदर्शन मिति तोकिएको छैन।
'मिरमिरे' लाई आरआर फिल्म्सले वितरण गर्नेछ।