रोशन दासको निर्देशनमा फिल्म 'प्रतिवैरम' निर्माण हुने भएको छ।
निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्म मधेश केन्द्रित कथामा निर्माण हुने जनाइएको छ।
सार्वजनिक पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अगाडि एक व्यक्ति उभिएको देख्न सकिन्छ।
फिल्मबारे निर्देशक दासले भने, 'मधेशबारे बन्ने फिल्महरूमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै पाइँदैन। हाम्रो फिल्ममा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौं।'
दासका अनुसार फिल्म मधेशकेन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहनेछ।
फिल्मलाई रेज इन्टरटेनमेन्टले आत्रेय पोडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निर्माण गर्न लागेको हो।
यसको कथा निर्देशक दास स्वयंको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन्। फिल्मलाई निरज कँडेलले खिच्ने जनाइएको छ।
कलाकारहरूबारे भने केही समयपछि मात्रै जानकारी दिइने निर्देशक दासले जनाए। उनको अनुसार केही नयाँ र केही पुराना अग्रज कलाकारहरूसँग फिल्ममा सहकार्य गर्ने तयारी छ।
फिल्म यही वर्षको अन्यतिर प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।