शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'जार' को भारतमा उच्च माग भएको छ।
पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो फिल्मप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित सहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन्।
सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योती क्षेत्रीले बताइन्। यस्तै दार्जीलिङमा पनि फिल्मको शोज थप भएको छ।
'हाल प्रदर्शनमा आएका सबै सहरमा फिल्मको उच्च माग देखिएको छ। सम्बन्धित हलहरूले शो थपको लागि सम्पर्क गरिरहनु भएको छ' क्षेत्रीले भनिन्, 'दर्शकले जारप्रति देखाउनु भएको प्रेमले उत्साहित छौं।'
दोस्रो चरणमा नेपाली भाषीहरूको बाहुल्य रहेका सहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायतका ठाउँमा फिल्म प्रदर्शनको क्रममा रहेको क्षेत्रीले जानकारी दिइन्।
नेपालमा पनि यो फिल्मलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। फुर्वाछिरिङ लामाले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायत कलाकारको अभिनय छ। गीताञ्जली भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री हुन्।
अखिलेश राईको सम्पादन रहेको फिल्मको कार्यकारी निर्मातामा त्रीलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।