अभिनेता समीर भट्ट अभिनीत फिल्म 'बलिदान' को टिजर सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ। समीरको जन्मदिन पारेर फिल्मको निर्माण पक्षले बुधबार प्रि-टिजर सार्वजनिक गरेका थिए।
सार्वजनिक एक्सनप्रधान टिजरलाई बिहीबार दिउँसोसम्म ५ लाखभन्दा बढीपटक हेरिएको छ। राम्रो भ्युजसहित टिजर युट्युबमा मुभिज खण्डतर्फ पहिलो नम्बरमा उक्लिएको छ। टिजरलाई लिएर आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन्।
सन्तोष सेनको निर्देशनमा बनेको बलिदान दसैंको फूलपातिमा प्रदर्शनमा आउने तयारी छ। फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय छ। फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो। यसका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्। अभिनेता समीर '१२ गाउँ' पछि यो फिल्ममा देखिन लागेका हुन्।