अभिनेता धिरज मगरले फिल्म 'जलाकी' साइन गरेका छन्।
यो फिल्म अशोक थापा मगरको निर्देशनमा निर्माण हुन लागेको हो। यी दुईको यो दोस्रो सहकार्य हुनेछ। यसअघि गत वर्षको हिट फिल्म 'खुस्मा' मा उनीहरूले सहकार्य गरेका थिए।
बागलुङको कालिका मन्दिरबाट छायांकन सुरू गरिएको फिल्मको केही दिनअघि पहिलो चरणको छायांकन सकिएको थियो।
धिरज दोस्रो चरणको छायांकन सुरू भएपछि सेटमा जोडिने निर्देशक थापा मगरले बताए।
त्रिकोणात्मक प्रेम कथामा बन्न लागेको फिल्ममा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेब्यु फिल्म हो। फिल्ममा माओत्से गुरूङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
कसैको सम्झना र मायाको प्रतिकको रूपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ। निर्देशकका अनुसार यो फिल्मको छायांकन तिन चरणमा गरिनेछ। रूकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भूभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने फिल्मले मगर र गुरूङ समुदायको संस्कृतिलाई झल्काउने जनाइएको छ।
एम मिडिया प्रा.लिको व्यानरमा निर्माण भइरहेको फिल्मको निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
फिल्ममा शैलेन्द्र डी कार्कीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ।