अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आफूहरूका बारेमा अनर्गल प्रचार गरिएको बताएका छन्।
श्रेष्ठ र आचार्यले आफूहरूमाथि अमेरिकी सहयोग नियोग (युएसएआइडी)बाट पैसा लिएर धर्मविरोधी कुराहरू प्रचार गर्दै हिडेको भनेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको बताएका हुन्।
सामाजिक सञ्जालबाट हुने त्यस्ता अनर्गल कुराहरूमा विश्वास नगर्न पनि उनीहरूले आग्रह गरेका छन्।
भिडिओमा मदनकृष्ण श्रेष्ठले भने, 'हिजोआज सामाजिक सञ्जालमा मह जोडीले यूएसएडको पैसा लिएर धर्म विरोधी प्रचार गरे भनेर अनर्गल प्रचार भइरहेको छ। यस्तो आरोप सुन्दा अत्यन्त चित्त दुखेको छु। संसारमा राम्रा कुराहरू पनि छन्, नराम्रो पनि छन्। हामीले राम्रो राम्रो मात्रै छानेर काम गर्दै आएका छौं। कुष्टरोग, खोपका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौं। यहाँहरूले हाम्रो टेलिफिल्महरू पूरा हेरेर जाच्नुभए हुन्छ।'
हरिवंश आचार्यले आफूहरूले गरेका काम युट्युबमा किताबजस्तै छर्लङग हुने गरेर राखेको र कहीँ पनि कुनै धर्मको विरोध नगरेको बताए।
'यो अनर्गल प्रचार हो। ०५२ सालमा सराध्य भन्ने कार्यक्रम बनाएका थियौं। त्यहाँ पण्डितलाई व्यंग्य गरिएको छ। पण्डित भन्दैमा भगवान हुँदैनन्। म पनि पण्डितको छोरो हो। त्यही भिडिओको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा कपोकल्पित कुरा हो। यी सबै भ्रामक कुराहरूको विश्वास नगरिदिन अनुरोध गर्दछौं, ' आचार्यले भने।
यस्तो छ उनीहरूको भिडिओ सन्देश: