फिल्म 'एक्टरः टेक वान' को सोमबार साँझ भव्य प्रिमियर गरिएको छ।
भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा आयोजित प्रिमियरमा फिल्मको टिम, अन्य फिल्मकर्मी, व्यापारिक क्षेत्रका व्यक्तिहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो।
प्रिमियरमा अभिनेताद्वय प्रदीप खड्का र राजबल्लभ कोइरालासहित अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीको प्रवेशले उपस्थितको ध्यान खिचेको थियो।
प्रिमियरको लागि अभिनेता राजबल्लभ कोइराला अमेरिकादेखि दुई दिनअघि मात्र नेपाल आएका थिए।
यो पनिः पहिलोपटक सँगै फिल्म खेलेका प्रदीप खड्का र आना शर्मा (भिडिओ)
प्रिमियरमा यो फिल्मले राम्रो प्रतिक्रिया पाएको छ। फिल्म हेर्नेहरूले यसको विषयवस्तु, प्रस्तुतिमा नयाँपन तथा कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे।
'एक्टरः टेक वान' लाई राजन भुसालले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप, आना, दिव्या, राजबल्लभसहित दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायत कलाकारहरूको समेत अभिनय छ।
फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। अधृत फिल्म्स् र अ मोती फिल्मस्को संयुक्त प्रस्तुति बनेको फिल्मको निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनिश भुसाल हुन्।
यो फिल्म सहिद दिवसको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आउन लागेको हो।





