राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म 'अञ्जिला' को गीत सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक 'डल्ले डल्ले खुर्सानी' बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर छ।
गीतको शब्द तथा संगीत पनि राजनराज स्वयंकै हो। मौलिक नेपाली शब्दहरू गीतमा प्रयोग गरिएको छ।
भिडिओमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको नृत्य छ। यसलाई कविराज गहतराजले कोरियोग्राफी तथा राम कुमार केसीले छायांकन गरेका हुन्।
यो गीत फिल्मको प्रचार प्रसार प्रयोजनका लागि तयार पारिएको निर्देशक मिलन चाम्सले बताए। उनका अनुसार फिल्मले राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ।
फिल्ममा एञ्जिला आफै मुख्य भूमिकामा छिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन्। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका छन्।
फिल्मको गत मंसिरमा हङकङमा वल्र्ड प्रिमियर गरिएको थियो।
नेपाल रिलिजअगावै युके, अमेरिका, अस्ट्रेलिया र जापानमा फिल्म प्रदर्शन हुने निर्माता श्रेष्ठले बताए।
फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठको छ। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन्। विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।
यो फिल्म नेपालमा फागुन २९ गते रिलिज हुने तयारीमा छ।