सन्तोष सेन निर्देशित फिल्म 'बलिदान' को हजारौं दर्शकको भिडसहित छायांकन गरिएको छ।
मंगलबार मोरङको हसिना सिमसार क्षेत्रमा हजारौंको भिडमा फिल्मको प्रि–क्लाइमेक्स दृश्य छायांकन गरिएको हो।
त्यहाँको बुढासुब्बा खेल मैदानमा बलिदान सांस्कृतिक महोत्सव आयोजना गरेर छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
ठूलो क्यानभास देखाएर स्टोरी र कथालाई विश्वसनीय बनाउन यसो गरिएको बताइएको छ। फिल्मको दृश्यलाई भव्य देखाउनकै लागि ४२ फिट अग्लो कालीदेवीको मूर्ति समेत ल्याइएको छ। त्यसको उद्घाटन पनि मंगलबार गरियो।
विभिन्न स्टलसमेत राखिएको महोत्सवमा केही कलाकारहरूको प्रस्तुति समेत रह्यो। निर्देशक सेनले छायांकनका तस्बिरहरू सामाजिक सञ्जालमार्फत साझा गरेका छन्।
फिल्म 'बलिदान' को शीर्ष भूमिकामा अभिनेता समीर भट्टले अभिनय गरिरहेका छन्। साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायतले अभिनय गरेका छन्।
निर्देशक सेनले 'बलिदान' नेपाली फिल्म उद्योगकै सम्झनायोग्य र ऐतिहासिक एक्सन फिल्म बनाउने बताउँदै आएका छन्।
आशुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको यस फिल्मको निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने सह–निर्माता प्रेम पुरी हुन्। यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ। छायांकन सकिएपछि टिजर ल्याउँदै प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ।




