अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अमेरिकाबाट नेपाल आएसँगै दुइटा फिल्ममा अभिनय गरिसकेकी छिन्।
अमेरिकामा पढेर उतै जागिर गरिरहेकी उनी अभिनेत्री बन्नकै लागि जागिर छाडेर गत चैतमा मात्रै नेपाल आएकी थिइन्।
उनको पहिलो फिल्म 'एक्टर' माघ १६ गते रिलिज हुँदैछ। दोस्रो फिल्म 'पिताम्बर' नयाँ वर्षको अवसर पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
अहिलेसम्म उनको चर्चा खासगरी दीलिप रायमाझीकी छोरी भनेर भइरहेको छ। अब दिव्याका लागि मुख्य चुनौती आफ्नै पहिचान बनाउनु हो।
सोमबार मात्रै फिल्म 'पिताम्बर' को टिजर रिलिज कार्यक्रममा बोल्दै उनले स्टार किड्स भएका कारण फिल्ममा प्रवेश गर्न सजिलो भए पनि आएपछि प्रमाणित गर्न गाह्रो रहेको अनुभव सेयर गरिन्।
पहिलो पटक फिल्मको औपचारिक कार्यक्रममा देखिएकी उनले भनिन्, 'मेरो ड्याडीले तीन दशकदेखि यति धेरै योगदान दिनुभएको छ। जसका कारण मलाई अरू न्यू कमरभन्दा इन्डष्ट्रीमा छिर्न सजिलो भयो होला। स्टार किडस् भएपछि छिर्न पक्कै पनि सजिलो हुन्छ। तर आएपछि आफूलाई प्रमाणित गर्न त्योभन्दा डबल गाह्रो हुँदोरहेछ। धेरै कम्पेरिजन्स हुँदोरहेछ। सोहीकारण सय प्रतिशत मात्र होइन्। दुई सय प्रतिशत मेहनत दिनुपर्ने हुन्छ।'
मेहनत र काम देखिएपछि दर्शकमाझ आफ्नै नामले चिनिने उनले विश्वास लिएकी छिन्।
कार्यक्रममा दिव्यालाई प्रदीप खड्कासँग नाम जोडिएको विषयमा समेत प्रश्न सोधिएको थियो। त्यसमा उनले आफूहरूबीच लगातार दुइटा फिल्ममा सहकार्य भएको र काम दर्शकले रूचाएका कारण नाम जोडिएको हुनसक्ने धारणा राखिन्। बलिउड, हलिउडमा पनि अभिनेता–अभिनेत्रीको केमेस्ट्री राम्रो देखियो भने गसिपहरू आउन सुरू हुने बताउँदै यसलाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ थियो।
दिव्याले ठूलो प्रोजेक्टको पार्ट हुन पाएकोमा ‘पिताम्बर’ टिमलाई धन्यवाद समेत दिइन्।
फिल्म राम्रो बनेको भन्दै काम गर्दाको अनुभव पनि राम्रो रहेको बताइन्। यो फिल्मबाट आफूले धेरै सिक्न पाएको समेत बताइन्।
कृषा चौलागाईं निर्देशित 'पिताम्बर' मल्टिस्टारर एक्सन फिल्म हो।
फिल्म 'पिताम्बर' को टिजरः