शिल्पा केसी निर्देशित सर्ट फिल्म 'दसैं आयो' ले एक लाख नगद पुरस्कार जितेको छ।
अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा' मा दसैं आयो प्रथम भएको हो।
प्रतियोगितामा अर्जुन तिरूवाको 'द ब्रिज' र विशाल झाको 'अन्तिम यात्रा' ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जिते।
देवनन्दन मण्डलको पेपर बोन्ड्स स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो।
पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो। २० वर्षमुनीका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरूलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलो सातासम्मको समय तोकिएको थियो।
साहित्यकार कुमार नगरकोटी, फिल्मकर्मी निश्चल बस्नेत र अभिनेत्री सुरक्षा पन्त निर्णायक टोलीमा थिए।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए।
फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए।
उनले भने, 'फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौं।'