सिनेमा हलले यो शुक्रबार रिलिज हुने नेपाली फिल्मको अग्रिम टिकट बिक्री खुलाएका छन्।
शुक्रबारदेखि हलमा शंकर घिमिरे निर्देशित 'तेल भिसा' र घनश्याम लामिछाने निर्देशित 'अग्निदहन' रिलिज हुँदैछन्।
विपिन कार्की र वर्षा राउत अभिनीत फिल्म 'तेल भिसा' लाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिनका लागि काठमाडौंभित्रका आउटलेटमा २५ र बाहिर २४ गरी ४९ शो दिएको छ। शोमा केही घटबढ भने हुनसक्छ।
यो फिल्मले आईएनआईमा ९, वान सिनेमाजमा ७, बिग मुभिजमा ४ शो पाएको छ। अन्य हलले पनि बुकिङ खुलाएका छन्।
'अग्निदहन' ले भने सीमित शो पाएको छ। क्युएफएक्सले फिल्मलाई काठमाडौंभित्र ४ शो दिएको छ। आईएनआईमा ३, वान सिनेमाजमा २ र बिग मुभिजमा १ शो दिइएको छ।
सामाजिक-पारिवारिक कथामा बनेको 'तेल भिसा' अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा बनेको हो।
फिल्ममा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको पनि अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) मा छन्।
निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्।
त्यस्तै, 'अग्निदहन' सामाजिक ड्रामा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास 'अग्निदहन' मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्। यसका प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन्।
शुक्रबारदेखि हलमा हलिउड फिल्म 'ग्लेडिएटर' पनि रिलिज हुँदैछ। यो फिल्मको पनि अग्रिम बुकिङ खुलिसकेको छ।
तिहारमा रिलिज 'पूर्णबहादुरको सारंगी' को व्यापार अझै पनि राम्रो छ। यो फिल्म बिहीबारदेखि चौथो सातामा लाग्दैछ।
अघिल्लो शुक्रबार रिलिज 'ह्रस्व दीर्घ' ले पनि सुखद् कमाइ गरिरहेको छ।