भारतीय कलाकार प्रदीप रावत र उनकी श्रीमती कल्याणी नेपाली फिल्म 'ह्रस्व दीर्घ' का दर्शक भेट्न नेपालगञ्ज पुगेका छन्।
बुधबार बिहान फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता हरिहर अधिकारी र निर्देशक चन्द्र पन्तसहित उनीहरू नेपालगञ्ज पुगेका हुन्।
उनीहरूले दिनभर सिने रोयल र क्युएफएक्स बागेश्वरी हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन्।
यसअघि प्रदीप फिल्मको टिमसँग काठमाडौंका हल हलमा पुगेका थिए। यो फिल्ममा उनले नीता ढुंगानाको बुवाको भूमिका निर्वाह गरेका छन्।
फिल्मको प्रवर्द्धनका लागि आइतबार नेपाल आएका प्रदीप नेपालगञ्ज हुँदै बिहीबार भारत फर्किनेछन्।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'ह्रस्व दीर्घ' यतिबेला सुखद् कमाइ गरिरहेको छ। फिल्मले सोमबारसम्म ३ करोड ६५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। बुधबारसम्म फिल्मको कलेक्सन ५ करोड पुग्ने अनुमान छ।
'ह्रस्व दीर्घ' चन्द्र पन्तले निर्देशन गरेका हुन्। शीर्ष भूमिकामा नीता ढुंगाना र उनका श्रीमान ज्योतिष तथा अभिनेता हरिहर अधिकारी छन्। साथमा नेपाली र भारतीय फिल्मका थुप्रै चर्चित कलाकारहरूको अभिनय छ।
यो फिल्म तेलुगु र हिन्दी भाषामा पनि रिलिज गरिने बताइएको छ।