निर्माणको तयारीमा रहेको एक्सन फिल्म 'कर्मा' मा अभिनेत्री उपासना सिंह ठकुरी र मुकुन भुसाल अनुबन्धित भएका छन्।
उपासना अभिनेता विपिन कार्कीको जोडीको रूपमा देखिने छिन्। फिल्मको मुख्य भूमिकामा विपिन यसअघि अनुबन्धित भइसकेका छन्। विपिन र उपासनाले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन्।
मुकुन भने नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जनाइएको छ। उनी यतिबेला फिल्म ‘पूर्णबहादुरको सारंगी’ का कारण चर्चामा छन्।
'कर्मा' मा सौरभ चौधरीको कथा तथा निर्देशन रहनेछ। उनले यसअघि 'अगस्त्यः च्याप्टर १' निर्देशन गरेका थिए।
फिल्ममा अभिनेता विपिनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ। विपिनले 'कर्मा' का लागि ८ केजी तौल समेत बढाएका छन्।
मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको फिल्म नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गते रिलिज गर्ने लक्ष्य राखेर काम अगाडि बढाइएको निर्देशक चौधरीले बताए। यो फिल्मको छायांकन दाङ र रूकुममा गरिनेछ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा बसन्त लम्सालको लगानी रहनेछ। फिल्मको छायाकंन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भइसकेको छ।
फिल्मको इन्टरनेशनल राइट्स 'सेभेन सिज इन्टरटेन्मेन्ट' ले खरिद गरेको हो।