फिल्म 'बेहुली फ्रम मेघौली' लाई ओटिटी प्लेटफर्ममा झन्डै २० हजार दर्शकले हेरेका छन्।
रिलिज भएको १० दिनमा फिल्मलाई १९ हजारभन्दा धेरै पटक हेरिएको हो। निर्माता एवं अभिनेता निश्चल बस्नेतले यसबारे जानकारी दिएका हुन्। उनले फेसबुकमार्फत सबै दर्शकलाई धन्यवाद समेत दिएका छन्।
स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म असोज १७ गते हलमा रिलिज भएको थियो। फिल्मले दुई सातामा ४ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको थियो।
फिल्म राम्रो चलिरहँदा पनि हलले उचित शो नदिएको भन्दै तेस्रो साताबाट फिल्मलाई हलबाट उतारेर एमएसएम भिडिओ नामक ओटिटी प्लेटफर्ममा रिलिज गरिएको थियो।
दर्शकले निश्चित शुल्क तिरेर ओटिटीमा यो फिल्म हेरिरहेका छन्।
'बेहुली फ्रम मेघौली' सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।