अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म 'ह्रस्व दीर्घ' बाट आफ्नो एउटा सपना पूरा भएको बताएकी छन्।
आफूले सानोमा फिल्ममा काम गरेका कलाकारहरूसँग सहकार्य गर्न पाए हुन्थ्यो भन्ने चाहना पूरा भएको उनले बताएकी हुन्।
दुई दशकअघिको फिल्म 'मितिनी' मा नीताले बाल कलाकारका रूपमा अभिनय गरेकी थिइन्। जुन फिल्ममा विपना थापा र रेखा थापा शीर्ष भूमिकामा थिए।
अहिले नीता आफूले निर्माण गरेको पहिलो फिल्म 'ह्रस्व दीर्घ' मा विपना र रेखा दुवै अभिनेत्रीले अभिनय गरेका छन्।
यो फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नीताले भनिन्, 'मैले सानोमा फिल्ममा काम गरेका कलाकारसँग काम गर्न पाए हुन्थ्यो भन्ने थियो। त्यो विपना दिदीबाट पनि पूरा भयो। रेखा दिदीबाट पनि पूरा भयो। सञ्चिता (लुइँटेल) दिदीबाट पनि पूरा भयो। सबै कलाकारलाई फिल्ममा राख्ने मेरो एउटा सपना पूरा भएको छ।'
'मितिनी' मा नीता फिचर्ड गीत 'नरिसाउ मितिनी ज्यू' अहिले पनि लोकप्रिय छ।
आयोजित कार्यक्रममा बोल्दै नीताले सानोमा विपना र रेखालाई भेट्दाको स्मरण समेत सेयर गरिन्।
'टेलिभिजन, फिल्ममा हेरिरहेको उहाँहरूलाई प्रत्यक्ष भेट्दा हेरेको हेर्यै हुन्थेँ,' उनले भनिन्, 'उहाँहरूले एकदमै फ्यामिलियर भएर अट्याचमेन्ट बनाइदिनुभयो।'
उनले 'मितिनी' फिल्मसँगको आफ्नो साइनोलाई कहिल्यै बिर्सन नसक्ने बताइन्।
आफूले फिल्म करिअरको कुरा गर्दा यो फिल्मको नाम नछुटाउने उनले सुनाइन्।
चन्द्र पन्तको निर्देशन रहेको 'ह्रस्व दीर्घ' मा नेपालीसहित भारतीय चर्चित कलाकारहरूले समेत अभिनय गरेका छन्।
नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, विपना थापा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, रेखा थापा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूले यसमा अभिनय गरेका छन्।
बलिउडका सिनेमाटोग्राफर कवीरलालले फिल्म खिचेका हुन्।
फिल्म यही कात्तिक ३० गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। हिन्दी र तेलुगू भाषामा समेत फिल्मलाई प्रदर्शनमा ल्याउने तयारी छ।
फिल्ममा ६ करोडभन्दा बढी लगानी भएको नीताले बताएकी छन्।