अभिनेत्री विपना थापाले भारतीय प्राविधिक र कलाकारहरूसँग फिल्ममा सहज रूपमा सहकार्य भएको बताएकी छन्।
डेढ दशकपछि अभिनयमा फर्किएकी उनले फिल्म 'ह्रस्व दीर्घ' मा सहज रूपमा काम भएको बताएकी हुन्।
नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको यो फिल्म यही कात्तिक ३० गते रिलिज हुँदैछ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विपनाले भारतीय कलाकारसँगको सहकार्यमा धेरै भिन्नता नपाएको धारणा राखिन्।
'यहाँको क्यामेराम्यान जस्तो हुनुहुन्छ, उताको क्यामेराम्यानले पनि त्यति नै को–अपरेट गर्ने। काम गर्ने तरिका त्यही, टेक्नोलोजी हाम्रो भन्दा नयाँ थियो,' विपनाले भनिन् 'कलाकारहरूसँग काम गर्दा पनि एकदमै सहज भयो। मलाई प्रदीपजी (रावत)सँग काम गर्दा सुनील दाई (थापा) हरूसँग काम गरेजस्तो, आफ्नै कलाकारहरूसँग काम गरेजस्तो भयो।'
उनले नेपाली कलाकारहरूलाई विदेशीहरूले पनि चिनोस् भन्ने आफ्नो पहिल्यैदेखिको चाहना रहेको बताइन्।
'ह्रस्व दीर्घ' त्यसको माध्यम बन्ने लागेपछि एकैचोटीमा यो फिल्म खेल्नका लागि सहमति जनाएको समेत बताइन्।
अहिले भारतका मिडियामा पनि 'ह्रस्व दीर्घ' बारे समाचार पढ्न पाउँदा एकदमै खुसी लागेको विपनाको भनाइ छ। उनले आफूले आफूलाई पहिल्यैदेखि नायिकाभन्दा पनि कलाकार भन्न रूचाउने गरेको समेत बताइन्।
कलाकारले आफूलाई मन परेमा जस्तोसुकै चरित्र निर्वाह गर्नुपर्ने उनले धारणा राखिन्। 'ह्रस्व दीर्घ' मा उनले अभिनेता हरिहर अधिकारीकी आमाको भूमिका निर्वाह गरेकी छन्।
उनले यो खालको चरित्र पहिलो पटक निर्वाह गरेकी हुन्। समयसँगै भाउजू, दिदी हुँदै आमाको भूमिका निर्वाह गर्ने समय आएको भन्दै भोलिका दिनमा हजुरआमाको रोलमा अफर आउने उनले बताइन्।
फिल्मको आफ्नो क्यारेक्टर बलियो रहेको र फिल्म नै राम्रो बनेको विपनाको दाबी छ।
पहिलो पटक निर्माता बनेकी अभिनेत्री समेत रहेकी नीता ढुंगानाले दुईवटा भूमिकामा रहेर काम गर्न गाह्रो भएको अनुभव साटिन्।
'म कलाकार नबनेर प्रोड्युसर मात्र भएको भए हुन्थ्यो भन्ने समेत भएको थियो। किनकि दुई/तीन तिरको स्ट्रेस थाप्न एकदमै गाह्रो हुँदोरहेछ,' उनले भनिन्, 'पर्दा पछाडिको तनाब छुट्टै छ। तर क्यामेराको अगाडि आफूले शतप्रतिशत अभिनय दिनुपर्यो। त्यो चिज गाह्रो रहेछ।'
लगानीको सन्दर्भमा पहिले नै व्यवस्थापन गरेकाले गाह्रो नभएको बताइन्।
अब दोस्रो फिल्म बनाउँदा अझ राम्रो गर्छु भन्ने महसुस भएको नीताले बताइन्।
'एक/दुई करोडको फिल्म भए सजिलैसँग ‘म्यानेज’ गर्न सकिने रहेछ। हाम्रै कलाकार, नेपालमा आफ्नो तरिकाले काम गरेको भए सजिलैसँग सकिने रहेछ। तर त्यो स्तरमा, त्यो हिसाबले कसरी गरयौं होला भन्ने लाग्छ।'
भारत र नेपालको सहकार्यमा ठूलो प्रोजेक्ट गर्ने आँट यो फिल्मबाट मिलेको बताइन्।
भनिन्, 'अहिले हामीले छ/सात करोडको फिल्म बनायौं होला। भोलि गएर ५० करोडको फिल्म बनायौं भने म्यानेज गर्न सक्छु भन्ने त्यो किसिमको आँट बटुलेकी छु।'
अभिनेता हरिहर अधिकारीको यो दोस्रो फिल्म हो। उनले सुरूमा आफूलाई काम गर्न गाह्रो भए पनि बिस्तारै सहज भएको अनुभव साटे।
'सबैले जसरी गाइड गर्नुभयो, सहज हुँदै गयो। ब्रह्मानन्दम सरसँग काम गर्दा कतिपय कुराहरू उहाँले सिकाउनुहुन्थ्यो। सुनील वर्माले पनि काम गर्न सहज बनाउनुभयो,' हरिहरले भने।
यस फिल्मको कथा उनले नै लेखेका हुन्। उनले फिल्मको कथा ज्योतिषशास्त्र र धर्मले भरिएको नभएको बताए। उनले अघिल्लो फिल्मबाट सिक्ने मौका पाएको बताउँदै यसमा धेरै राम्रो गर्ने कोशिस गरेको धारणा राखे।
निर्देशक चन्द्र पन्तले फिल्मको मुख्य हिरो 'स्क्रिप्ट' भएको बताए। फिल्म एक्सन, लभ, रोमान्स, इमोशनको प्याकेज भएको उनको भनाईं छ।
उनले भने, 'यो विशुद्ध लभस्टोरी, फ्यामिली ड्रामा हो। यसमा एक्सन छ, ड्रामा छ, मुख्यतः इमोशन थुप्रै छ।'
फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूको अभिनय छ।
बलिउडका सिनेमाटोग्राफर कवीरलालले फिल्म खिचेका हुन्।
'ह्रस्व दीर्घ' नेपालभर नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ। फिल्मलाई तेलुगू भाषामा पनि रिलिज गर्ने तयारी छ।