अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको फिल्म 'ह्रस्व दीर्घ' नेपालमा नेपाली र हिन्दी दुवै भाषामा एकैदिन रिलिज हुने भएको छ।
शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेन्मेन्टलाई विदेश राइट्स बिक्री गर्दै नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो।
विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने निर्मात्री एवं अभिनेत्री ढुंगानाले बताइन्।
फिल्मको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो। यो कम्पनीका सञ्चालकमध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिए।
नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो फिल्म तेलुगू भाषामा पनि रिलिज गर्ने तयारी भइरहेको अभिनेता हरिहर अधिकारीले बताए।
'हाम्रो फिल्ममा धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगू भाषामा भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं। भारतीय वितरकले पनि फिल्प्रति राम्रो चासो देखाएका छन,' हरिहरले भने।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्।
फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूको अभिनय छ।
फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेब्यु नेपाली फिल्म हो।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेन्मेन्टले वितरण गर्दैछ।