'बेहुली फ्रम मेघौली'का निर्माता निश्चल बस्नेतले नेपाली सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेको भएपनि हलले शो घटाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।
नेपाली सिनेमाप्रति दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदा पनि हलले नेपाली सिनेमालाई स्थान नदिएको उनको गुनासो छ।
'राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है। म चाहीँ हलको विकल्प तिर लागें,' बस्नेतले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्।
आलिया भाट स्टारर सिनेमा 'जिग्रा' शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनीमा छ। त्यसकै लागि नेपाली सिनेमाहरूको शो घटाइएको उनको दाबी छ।
'बेहुली फ्रम मेघौली'ले पाएका शो सबैजसो हलहरूमा ८० देखि ९० प्रतिशत भरिए पनि भारतीय सिनेमा लाग्नेबित्तिकै शो घटाइएको उनले बताए।
'शोहरू मेरिटको आधारमा दिनुपर्ने हो। हाम्रो शोमा जति पनि पाएका छौं लगभग सबैजसो भरिएकै छन्, या ८० देखि ९० प्रतिशत अकुपेन्सीहरू छन्,' उनले सेतोपाटीसँग भने, 'अहिले तीन वटै नेपाली सिनेमाले राम्रो गरिरहेको छ। राम्रो गरिरहेका अन्य सिनेमाबाट शो मागेका पनि हैनौं। तर एउटा हिन्दी फिल्म लगाइएको छ, जसको अकुपेन्सी पनि छैन, दर्शक पनि गएका छैनन्। तर त्यही फिल्मले हाम्रो भन्दा दोब्बर शो पाइरहेको छ।'
दर्शकले रूचाउँदा पनि शो नदिने हो भने हलमा फिल्म देखाउनुको औचित्य नरहने उनको भनाइ छ।
'शो झुण्ड्याउनकै लागि मात्रै राख्ने हो र! हाम्रो अकुपेन्सी राम्रो थियो। दर्शकले मनपराएर पब्लिसिटी पनि बढ्ने क्रममा थियो,' उनले भने, 'यसो हुँदाहुँदै हिन्दी फिल्म लगाएपछि हामीले किन हलका लागि सिनेमा बनाउने? दर्शकको उपस्थिति पनि राम्रै छ तर शो छैन भने हलमा किन सिनेमा राखिराख्ने?'
बस्नेतले बुधबार मात्रै आफ्नो फिल्मले ४० लाखको ग्रस कलेक्सन गरेको बताए। त्यसपछि अरू फिल्म आएपछि बेहुली फ्रम मेघौलीका सबै शो हटाइएको उनले बताए।
'हाम्रो पनि सुरूमा ८० प्रतिशत हलमा चलिरहेको थियो। तर एक्कासि शो झार्दा फिल्म मेकरले केका लागि फिल्म बनाउने?,' उनले भने।
हलको विकल्पमा अनलाइन प्लेटफर्म (ओटिटी)मा फिल्म चलाउनेबारे आफूले कुराकानी थालिसकेको बस्नेतले बताए।
'ओटिटी प्लेटफर्मका लागि कुराकानी गरिरहेको छु। फिल्महरू त्यतैबाट रिलिज गर्नुपर्ला कि भन्ने सोँच पनि छ। हलबाट पनि एकदुई दिनमै हटाउँछु,' उनले भने।