तिहारको समयमा गर्ने व्यङ्ग्यामक देउसी भैलोका लागि विशेष चर्चित सिस्नुपानी समूहले चीनको औधोगिक शहर ग्वाङ्जाओमा पहिलो पटक आफ्नो प्रस्तुति दिएको छ। डिसेम्बर ३१ मा एनआरएनए एनसीसी चीनद्वारा ग्वाङ्जाओमा आयोजना गरिएको 'हास्यव्यङ्ग्य एवं साङ्गीतिक साँझ' सिस्नुपानी नेपालका उपाध्यक्ष एवं वरिष्ठ हास्यकलाकार मनोज गजुरेल, गायकद्वय यम बराल एवं शिशिर योगी र प्रस्तोतामा सिस्नुपानी नेपालका महासचिव एवं व्यङ्ग्यकार टंक आचार्यको प्रस्तुतिले सहभागी दर्शकको मन जित्न सफल रह्यो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्बाट हालै मनोनित आइसिसि सदस्य अमृता थापा कन्चनको सभापतित्व एवं ग्वाङ्जाओ स्थित चीनका लागि नेपाली महाबाणिज्यदूत रवि भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कलाकार मनोज गजुरेलले आफ्नो तिखो व्यङ्ग्यात्मक प्रस्तुति मार्फत् नेपालीहरू जहाँ गएपनि सुरुमा एक्लो हुदाँ कवि हुने, दुई जना जम्मा भए पार्टनरशिपमा काम थाल्ने, तीन जना भएपछि राजनीतिक संस्था खोल्ने र चार जना हुनासाथ संस्था टुक्र्याउने चलन संसार भरि नै रहेको भन्दै आयोजकले सकेसम्म सबैलाई समेट्ने प्रयास गरेको र जम्मा चार सयको बसोबास रहेको ग्वान्जौका नेपाली समुदायबाट तीनसयको उपस्थिति हुनु एकदमै राम्रो ब्यवस्थापन भएको भन्दै आयोजक सबैलाई सह्राहना गरे ।
त्यस्तै चर्चित गायक यम बरालले 'मोहनी लाग्ला है', 'बादलुको घुम्टोले', 'हेर हेर पूर्वबाट', 'माया बस्यो' लगायतका आफ्ना चर्चित गीत गाउँदा सबै दर्शक नाचेर रमाएका थिए । अर्का गायक शिशिर योगीले पनि उपस्थित सबैको हृदय छुने गीतहरु 'सारङ्गी त रेटेपनि', 'यो देशमा', 'हाँस्नलाई ओठ खोलेँ',' झम् तारा झम् झम्' लगायतका गीत प्रस्तुत गरेका थिए ।
त्यसैगरी सिस्नुपानी नेपालका महासचिव एवं व्यङ्ग्यकार टङ्क आचार्यले विविध हास्यव्यङ्ग्य रचनाहरू सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।
कार्यक्रममा चिनको बेइजिङ्ग, साँघाइ, इयु, फुजियान, सेन्जेन तथा हङकङबाट समेत दर्शकहरुको सहभागिता रहेको थियो।